स्थानीय र आगन्तुक चराको गन्तव्य ‘कान्ति ताल’

शुक्रबार, २० असार २०८२

 

बाँके । कान्ति ताल कुनै समय स्थानीयका सिँचाइको स्रोत थियो । नेपालगञ्जको सहरबीचमा रहेको मानवनिर्मित यो सुन्दर ताल अहिले स्थानीय चराका लागि बासस्थान तथा प्रजननको थलो र विदेशी चराका लागि गन्तव्य बनेको छ ।कमललगायतका फूलले भरिएको कान्ति ताल विभिन्न चराका लागि आहार र विहारका लागि लामो समयदेखिको आश्रयस्थल हो ।

जानकारहरू जैविक विविधताका दृष्टिले महत्त्वपूर्ण कान्ति ताल चरा अध्ययनका लागि पनि प्रसिद्ध भएको बताउँछन् । विज्ञहरू यो ताललाई ‘बर्ड पार्क’ र ‘बर्च वाचिङ’का रूपमा विकास गर्न सकिने बताउँछन् । तर यही तालमा केही समयअघि मोटरबोट चलाउने प्रयास भएपछि स्थानीय, अधिकारकर्मीलगायतको विरोध पनि भयो । विरोधपछि डुङ्गा चलाउने योजना अलपत्र पर्यो । अहिले तालको एक छेउमा एउटा काठको डुङ्गा अलपत्र छ । न डुङगा चढ्न आउनेहरू छन् नत चलाउने मानिस नै देखिन्छन् ।

जैविक विविधता र पारिस्थितिक प्रणालीलाई सन्तुलनमा राख्दै पर्यावरण जोगाउनमा कान्ति तालको भूमिका महत्त्वपूर्ण भएको जानकार बताउँछन् । विशेषगरी सारसका लागि यो क्षेत्र महत्त्वपूर्ण छ । सारसको बासस्थान बाँकेस्थित राप्ती नदीको तटीय क्षेत्र, कान्ति ताल र मानखोल हो । त्यसमध्ये पनि कान्ति ताल सबैभन्दा राम्रो बासस्थान भएको विज्ञको भनाइ छ ।

नेपालगञ्ज उपमहानगरको वडा नं २२ र २३ मा २५ बिघामा फैलिएको कान्ति ताल परम्परागत चराका लागि मात्रै नभई विभिन्न देशबाट बर्सेनि आउने विदेशी चराको पनि महत्त्वपूर्ण बासमा पर्छ । तालमा वर्षभरि नै दुर्लभ चराचुरुङ्गी बसोबास गर्नुका साथै जाडो तथा गर्मी छल्न विभिन्न देशबाट बर्सेनि चराहरू आउने गरेका छन् ।

फ्रेन्डस् फर वाइल्ड वाइल्ड लाइफ कन्जरभेसनका अध्यक्ष आशिष चौधरीका अनुसार नेपालगञ्ज आसपासमा यहाँजस्तो सिमसार अन्य ठाउँमा छैन । यहाँ प्रकृतिप्रेमीका लागि मात्र नभई जनावर र चराका लागि पनि उपयुक्त वातावरण छ, लामो समयदेखि यसलाई जोगाउन सकेकै कारण विभिन्न देशबाट यहाँ बर्सेनि चरा आइरहेका छन्, उनले भने ।

दुर्लभ चराको बासस्थान रहेको कान्ति ताल क्षेत्रमा पर्यटकीय गतिविधि बढाउनका लागि मोटरबोट सञ्चालनको प्रक्रिया सुरु भएपछि संरक्षणविद्ले चासो व्यक्त गर्दै उपमहानगरमै उक्त कार्य रोक्नका लागि निवेदन दिएका थिए । उनीहरूले तालमा मोटरबोट सञ्चालन गर्नुको साटो चरापार्क निर्माण गरी आम्दानी गर्न सकिने सुझाव पनि दिएपछि अहिले त्यसतर्फ चासो बढाइएको उनको भनाइ छ ।

मोटरबोट सञ्चालन भएमा पर्यावरणमा क्षति पुग्नुका साथै चराचुरुङ्गी यहाँबाट लोप हुने भएकाले उनीहरूको संरक्षणका लागि भए पनि मोटरबोट सञ्चालन गर्न नहुने उनीहरूको सुझाव छ । तालमा मोटरबोट सञ्चालनका लागि लामो प्रयास भयो, तर बोट चढ्ने मानिस पनि भएनन्, त्यसपछि प्रयास भएको छैन, यो ताललाई अहिले प्राकृतिक रूपमै संरक्षण गर्नुपर्ने आवाज उठिरहेको छ, चौधरीले भने । चौधरी तालमा काठको डुङ्गा चलाउन समस्या नभए पनि मोटरबोट चलाउँदा त्यहाँको पारिस्थितक प्रणालीमा नै असर पुग्ने बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार