इलाम : ६३औँ इन्जिनियर दिवसको पूर्वसन्ध्यामा नेपाल इन्जिनियर्स एसोसिएसन (ने.ई.ए) कोशी प्रदेश समितिको आयोजनामा सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले एक कार्यक्रम सम्पन्न गरिएको छ।
इलामस्थित श्री राहसल बाल अनाथालयमा आयोजित "शैक्षिक सामग्री वितरण तथा इन्जिनियरहरूसँग अन्तरक्रिया कार्यक्रम" उल्लेखनीय सहभागितासहित सफलतापूर्वक सम्पन्न भएको हो।
कार्यक्रममा इलाम नगरपालिकाका मेयर केदार थापा प्रमुख अतिथिका रूपमा तथा सडक डिभिजन कार्यालय, इलामका डिभिजन इन्जिनियर पवन भट्टराई सभापतिका रूपमा सहभागी भए।
कार्यक्रममा इलामका सिँचाइ, भवन,खानेपानी, विद्युत्, टेलिकमलगायत सरकारी कार्यालयहरूका प्रमुख र इन्जिनियरहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा अनाथालयमा बसोबास गरिरहेका १६ बालबालिकालाई कापी, कलम, पेन्सिल, स्कुल ब्यागलगायतका शैक्षिक सामग्री प्रदान गरियो।
यस सामाजिक कार्यले सहभागीहरूलाई भावनात्मक रूपमा जोड्ने मात्र होइन, ग्रामीण क्षेत्रमा इन्जिनियरहरूको पहुँच र सक्रियता देखाउने अवसरसमेत प्रदान गर्यो।
कार्यक्रम सफल बनाउन प्रेरणा प्रदान गर्ने ने.वि.प्राका आयोजना प्रमुख अनुप गौतम तथा आयोजना इन्जिनियर जनक थापाप्रति ने.ई.ए.कोशी प्रदेशले विशेष धन्यवाद ज्ञापन गरेको छ।
कार्यक्रममा कोशी प्रदेश समिति सह-सचिव पवन कार्कीले संयोजन र सञ्चालनको भूमिका निर्वाह गरेका थिए।
ने.ई.ए.बाट राजधानी बाहिर, विशेषगरी इलामजस्तो पहाडी जिल्लामा पहिलो पटक यस्ता खालका कार्यक्रम आयोजना गरिएको हो, जुन सामाजिक उत्तरदायित्व र पेसागत समर्पणको अनुपम उदाहरण बनेको छ। मेयर थापा र स्थानीय इन्जिनियरहरूको उत्साहजनक सहभागिताले कार्यक्रमलाई थप प्रभावशाली बनाएको आयोजकले जनाएको छ।
प्रतिक्रिया