विराटनगर : कोशी प्रदेशमा गाँजाको ओसारपसार र तस्करी नियन्त्रण गर्न रणनीतिक रुपमा अघि बढेको प्रहरी प्रशासनले पछिल्लो एक वर्षमा ऐतिहासिक रूपमा बढी मात्रामा गाँजा बरामद गरेको छ। आर्थिक वर्ष २०८१/८२ मा प्रहरीले २६ हजार ७ सय ५० किलोभन्दा बढी गाँजा बरामद गरेको छ, जुन अघिल्लो तीन वर्षको तुलनामा पाँचगुनाले बढी हो।
लागुऔषध ऐनले निषेध गरेको गाँजाको खेती, भण्डारण, ओसारपसार र बिक्री कानुनी दृष्टिले अपराध हो। तर, कोशी प्रदेशका पहाडी जिल्लाहरूमा संगठित रुपमा गाँजाको खेती हुँदै तस्करी भइरहेको तथ्यांकले देखाउँछ। विशेष गरी धनकुटा, भोजपुर, र उदयपुर जिल्लामा गाँजाको खेती व्यापक छ भने त्यसलाई तराईको सुनसरी, मोरङ, र झापाजस्ता जिल्लाबाट भारततिर निकासी गर्ने क्रम तीव्र बन्दै गएको छ।
प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार बरामद परिमाणसँगै पक्राउको संख्या पनि बढेको छ। पछिल्लो आर्थिक वर्षमा २३५ पुरुष र २६ महिला पक्राउ परेका छन्। ओसारपसारमा प्रयोग गरिएका ७७ वटा सवारीसाधनसमेत प्रहरीले नियन्त्रणमा लिएको छ।
गाँजा तस्करीको 'मोडस अपरेन्डी'
तस्कर समूहले एम्बुलेन्स, ट्यांकर, यात्रुबाहक बस, मोटरसाइकल, र निजी कारमा लुकाएर गाँजा ओसारपसार गर्दै आएका छन्। कतिपय अवस्थामा सवारीसाधनमा विशेष च्याम्बर बनाइने गरेको छ। स्थलमार्गबाट प्रहरीको निगरानी कडा भएपछि जलमार्गको प्रयोगसमेत सुरु भएको प्रहरी अनुसन्धानले देखाएको छ।
सबैभन्दा बढी गाँजा सुनसरीबाट
सुनसरी जिल्लाबाट मात्रै १२ हजार ३ सय ७५ किलोभन्दा बढी गाँजा बरामद भएको छ। मोरङबाट ६ हजार ६५० किलो, धनकुटाबाट ४ हजार १९४ किलो, झापाबाट १ हजार ६५१ किलो, र उदयपुरबाट १ हजार ८१० किलो गाँजा बरामद भएको प्रदेश प्रहरी स्रोतको भनाइ छ।
तस्करीको मुख्य गन्तव्य भारत
नेपालमा प्रतिकिलो १० हजार रुपैयाँसम्ममा किनबेच हुने गाँजा भारत पुर्याएपछि सो मूल्य दोब्बर भन्दा बढी हुने भएकाले तस्करहरू उच्च जोखिम मोलेर पनि कारोबारमा लागिरहेका छन्।
प्रहरीको रणनीतिक मोड
प्रदेश प्रहरी प्रमुख डीआईजी ईश्वर कार्कीका अनुसार अब प्रहरी तस्करीको अन्तिम बिन्दु मात्र होइन, गाँजाको उत्पादन हुने स्रोत र संगठित गिरोहतर्फ केन्द्रित भएर अघि बढ्ने रणनीतिमा छ। ‘अब सिमानाबाट गाँजा ओसार्ने व्यक्ति मात्र होइन, खेती गर्ने र संकलन गर्ने गिरोहको पहिचान गरेर कारबाही गरिनेछ,’ कार्कीले बताए।
उनका अनुसार प्रदेशमा लागुऔषध समस्या गम्भीर बन्दै गएकाले प्रहरी परिचालनमा स्थानीय तह, समुदाय, र सशस्त्र प्रहरीसँग समन्वय गर्दै ‘गाँजा माफिया’को जालो भत्काउने कार्यलाई प्राथमिकता दिइएको छ।
प्रतिक्रिया