काठमाडौँ : नेकपा (एमाले)ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन नदिने निर्णय गरेको छ। सोमबार सकिएको केन्द्रीय कमिटीको नवौँ बैठकपछि एमालेले भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने घोषणा गरेको हो।
एमालेले सदस्यता नवीकरण मात्र होइन, कुनै पनि दल विशेषमा आबद्ध भई नेता वा कार्यकर्ता बन्नु पनि संविधानको मर्म विपरीत हुने ठहर गरेको छ।
प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जारी गरेको प्रेस विज्ञप्तिमा संविधानको भाग ६, धारा ६१ र २६७ को हवाला दिँदै राष्ट्रपतिको भूमिका ‘साझा र गौरवमय’ भएकाले पूर्वराष्ट्रपतिले सक्रिय राजनीति गर्न नहुने दाबी गरिएको छ।
“राष्ट्रध्यक्ष, संविधानको संरक्षक, सेनाको परमाधिपति र गणतन्त्रको प्रतिकरजस्ता जिम्मेवारी बोकेको व्यक्तिले फेरि दल विशेषमा लाग्नु संविधान र लोकतान्त्रिक मूल्यविपरीत हुन्छ,” विज्ञप्तिमा उल्लेख छ।
एमालेले आठ बुँदे कारणसहित भण्डारीको राजनीतिक पुनरागमन रोकेको छ। साथै, उनीप्रति उच्च सम्मान व्यक्त गर्दै “पूर्व राष्ट्रपतिको भूमिका मै रहनु उपयुक्त हुने” निष्कर्ष सार्वजनिक गरेको छ।
यस निर्णयसँगै विद्यादेवी भण्डारीको सम्भावित पुनरागमनको अड्कलबाजी चिसिएको छ। पार्टीको निर्णयले आगामी दिनमा पूर्व राष्ट्रपतिहरूको भूमिका र राजनीतिक सीमारेखाबारे नयाँ बहसको ढोका पनि खोलेको छ।
प्रतिक्रिया