भारतमा अनलाइन ठगी गराउन नेपालीलाई बेचबिखन : दुई जना तस्कर काठमाडौँ र वीरगञ्जबाट पक्राउ

विहीबार, ०८ साउन २०८२

काठमाडौँ :  आकर्षक तलबको प्रलोभन देखाएर भारत पुर्‍याई नेपाली युवालाई जबरजस्ती अनलाइन ठगी (स्क्यामिङ) गराउन बाध्य पार्ने गिरोह भण्डाफोर भएको छ।

 मानव बेचबिखन तथा ओसारपसार अनुसन्धान ब्युरोले यस प्रकरणमा संलग्न दुई जनालाई काठमाडौँ र वीरगञ्जबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिन्धुलीका २४ वर्षीय राजकुमार अछामी र सिन्धुपाल्चोकका ४५ वर्षीय रेशमबहादुर खत्री रहेका छन्। अछामी हाल भक्तपुरको लोकन्थलीमा र खत्री पर्साको वीरगञ्जमा बस्दै आएका थिए।

ब्युरोका अनुसार अछामीले एक नेपाली युवालाई भारतमा ड्राइभरको जागिर लगाइदिने भन्दै मासिक ३५ हजार भारतीय रुपैयाँ र ओभरटाइमको लोभ देखाएका थिए। त्यसै आधारमा १९ वैशाखमा ती पीडित बल्खुबाट वीरगन्ज पुर्‍याइए।

खत्रीले त्यहाँबाट उनलाई भारतको रक्सौल हुँदै पटना लगेर ‘वेल स्टार डायनामिक कम्पनी’ नामक स्क्यामिङ कम्पनीमा बुझाएका थिए।

पटनानजिक पुन पुन अजय स्टेसनमा रहेको उक्त कम्पनीमा पीडितलाई करिब एक सातासम्म तालिमको नाममा बन्धक बनाइ शारीरिक तथा मानसिक यातना दिइएको अनुसन्धानबाट खुल्न आएको छ।

उनलाई फेसबुकमार्फत अन्य नेपालीलाई समेत स्क्याममा फसाउन ‘इनभाइट’ गर्न बाध्य पारिएको थियो।

ब्युरोका सूचना अनुसार पीडितको परिवारसँग सम्पर्क तोडिएको थियो र उनलाई नक्कली फेसबुक आइडीमार्फत अनलाइन ठगी गर्न लगाइएको थियो।

यतिसम्म कि कपडा किन्ने बहानामा २ लाख बराबरको रकम असुली जबरजस्ती कागज गराएर करिब दुई महिना बन्धक बनाई निरन्तर शोषण गरिएको थियो।

पीडित १ साउनमा नेपाल फर्किएर ब्युरोमा उजुरी दिएपछि अनुसन्धान अघि बढाइएको हो। सोही क्रममा अछामीलाई बल्खुबाट र खत्रीलाई वीरगन्ज बसपार्कबाट ५ साउनमा पक्राउ गरिएको हो।

उनीहरूमाथि काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान भइरहेको ब्युरोका सूचना अधिकारी प्रहरी उपरीक्षक रुगमबहादुर कुँवरले जानकारी दिए।

ब्युरोले यस घटनालाई सङ्गठित मानव तस्करीको गम्भीर अपराध भन्दै थप संलग्न व्यक्तिहरूको खोजी तीव्र बनाएको जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार