ओली नेतृत्वको सरकारप्रति काङ्ग्रेसभित्र असन्तुष्टि, देउवाले पदाधिकारी बैठक बोलाए

शुक्रबार, ०९ साउन २०८२

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली र सरकारले अघि बढाएका विभिन्न विधेयकप्रति असन्तुष्टि बढेसँगै नेपाली काङ्ग्रेसभित्र व्यापक छलफल हुन लागेको छ।

कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रवार बिहान ९ बजे आफ्नो निवास बुढानीलकण्ठमा पदाधिकारी बैठक बोलाएका छन्।

देउवाले पार्टी पदाधिकारी, पूर्वपदाधिकारी र सरकारमा रहेका केही मन्त्रीहरूलाई बोलाई आन्तरिक असन्तोष र समसामयिक राजनीतिक विषयमा छलफल गर्न लागेका हुन्। मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा सरकारमा काँग्रेसको सहभागिता, एमालेसँगको सत्ता सहकार्य, मन्त्रीहरूको कार्यसम्पादन र पछिल्लो राजनीतिक घटनाक्रमबारे समीक्षा हुने बताइएको छ।

१७ असार २०८१ मा कांग्रेस–एमाले सत्ता गठबन्धन बनेपछि मुलुकमा स्थिरता, सुशासन र संविधान संशोधनको अपेक्षा गरिएको थियो। तर एक वर्ष बित्दा पनि सरकारबाट जनताले अपेक्षा गरेको काम नदेखिएको भन्दै काङ्ग्रेसभित्र असन्तोष चुलिएको छ।

सहमहामन्त्री जीवन परियारका अनुसार, ‘सरकारका मन्त्रीहरूले जनताले महसुस गर्ने गरी काम गर्न नसकेकोले काँग्रेसले जनतालाई जवाफ दिनुपर्ने अवस्था आएको छ।’

सरकारको १०० दिने हनिमुन पिरियड सकिएपछि काँग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले निरन्तर खबरदारी गर्दै आए पनि सरकारको शैलीमा सुधार नआएको भन्दै काङ्ग्रेसभित्र व्यापक आलोचना भइरहेको छ। विपक्षी दल माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सदन र सडकमा विरोध जारी राखे पनि सरकार संवेदनशील नरहेको आरोप छ।

रास्वपाले ‘भिजिट भिसा काण्ड’ लगायतका विषयमा डेढ महिनादेखि सदन अवरुद्ध गर्दै आएको छ तर सरकारले टालटुले समिति बनाएर सदन चलाइरहेको भन्दै कांग्रेस नेताहरूले आलोचना गरेका छन्।

कांग्रेस सांसद हृदयराम थानीका अनुसार, सरकारलाई सचेत गराउने उद्देश्यले काँग्रेसले खबरदारी गरिरहेको हो, विकल्प खोज्ने होइन। उनले भने, ‘भ्रष्टाचार नियन्त्रण र सुशासनको बाटोमा सरकार जान नसकेकोले यसको गम्भीर समीक्षा जरुरी छ। त्यसैले पार्टीभित्र छलफल आवश्यक भएको हो।’

अनुशासन आयोगको कारबाही र आन्तरिक असन्तोषबीच शुक्रवारको बैठकले काँग्रेसको आगामी राजनीतिक रणनीति र सरकारसँगको सम्बन्धमा नयाँ मोड ल्याउने अनुमान गरिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार