काठमाडौँ : तीनकुनेमा राजावादी आन्दोलनका मुख्य अभियुक्तका रूपमा पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईँले कारागारबाट भावुक अपिल जारी गरेका छन्।
कारागारमा रहेर पनि आफू आन्दोलनको आगामी योजना बनाइरहेको उल्लेख गर्दै प्रसाईँले सरकार, माफिया र तस्करविरुद्धको ‘युद्ध’ अझै नरोकिने स्पष्ट पारेका छन्।
उनले आफ्नो सचिवालयमार्फत सार्वजनिक गरेको अपिलमा तीनकुने घटनामा कुनै गल्ती नभएको दाबी गरेका छन्।
“जब मेरो गाडीमा अश्रुग्याँस खस्यो र अगाडिबाट गोली चल्यो, मैले बुझेँ– मलाई सिद्ध्याउने षड्यन्त्र हो। त्यसपछि चालकलाई बाहिर निकालेर गाडी प्रहरीतर्फ हुइँक्याएँ, तुरुन्तै नियन्त्रणमा आउँ भन्ठानेँ, तर प्रहरीले लियन्,” उनले लेखेका छन्।
बाहिर कठोर देखिए पनि भित्र अत्यन्त भावुक रहेको बताउँदै उनले प्रेम आचार्यको आत्मदाहपछि आफैँ थुनेर रुनु परेको उल्लेख गरेका छन्। “प्रेमको पीडा देखेर आँसु बगाएँ, तर आँसु मात्रैले हुँदैन भन्ने लाग्यो,” उनले भने।
कारागारमै रहँदा विदेशबाट डाक्टर बनेर फर्किँदै गरेकी छोरीलाई स्वागत गर्न नपाएको पीडा र नातिलाई देख्न नपाएको क्षोभ पनि उनले प्रकट गरेका छन्। “मेरो नातिले मलाई धेरै सम्झन्छ रे। कारागारमै बोलाएर खेलाऊँ भने मन सम्हालिन्छ कि डर लाग्छ,” प्रसाईँको पीडादायी भनाइ छ।
उनले आफूलाई जेलमा हाल्नुको कारण ‘देशघातीको मुखुण्डो खोल्नु’ भएको आरोप लगाएका छन्। “माफिया, तस्कर र देश विरोधी राजनीतिज्ञहरूको पोल खोल्दा जेल हालिएको हो,” भन्दै तीनकुने आन्दोलनलाई बदनाम गर्न बर्दीधारी गुन्डा प्रयोग गरिएको आरोप पनि प्रसाईँले लगाएका छन्।
अपिलमा उनले २०४६ सालको संविधान पुनर्स्थापना र हिन्दु राजतन्त्रको पक्षमा आफू अडिग रहेको पुनः दोहोर्याएका छन्।
साथै झापास्थित बी.एण्ड.सी. अस्पतालमा आफूले गरिबका लागि निःशुल्क उपचारको व्यवस्था मिलाएको घोषणा गर्दै उनले भने, “सूर्यमा सधैँ ग्रहण लाग्दैन, एक दिन आकाश खुल्छ, हामी मिलेर सुन्दर नेपाल बनाउँछौँ।”
प्रसाईँको कारागारबाट आएको यस अपिलले उनका समर्थकहरूमा उत्साह थपेको छ भने आलोचकहरूबिच तीव्र बहस चर्किएको छ।
प्रहरीले भने घटनामा षड्यन्त्र भएको उनको दाबीबारे औपचारिक प्रतिक्रिया दिएको छैन। तर प्रसाईँले कारागारमै रहेर पनि आन्दोलनको योजना जारी राखेको जानकारीले राजावादी आन्दोलन थप चर्चामा ल्याएको छ।
प्रतिक्रिया