कम्बोडियामा मानव बेचबिखनविरुद्ध ठुलो अपरेसन : ३ हजार ७५ जना पक्राउ, भारतीय र पाकिस्तानी पनि संलग्न

सोमबार, १२ साउन २०८२

काठमाडौँ : थाइल्यान्ड-कम्बोडिया सीमामा चलिरहेको तनाव र शिव मन्दिर विवादकै बिच कम्बोडियाबाट मानव बेचबिखनसम्बन्धी ठुलो खबर आएको छ। कम्बोडिया प्रहरीले हालसम्मकै ठुलो अपरेसन चलाउँदै मानव बेचबिखनमा संलग्न गिरोहलाई धरपकड गरेको हो।

गत जुन २७ देखि जुलाई २२, २०२५ सम्म कम्बोडियाको विभिन्न साइबर अपराध केन्द्रमा छापा मार्दा ३ हजार ७५ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा १०५ जना भारतीय र ८१ जना पाकिस्तानी नागरिक समेत छन्। प्रहरीले उनीहरूबाट ल्यापटप, मोबाइल, लागुऔषध र नक्कली प्रहरी पोसाक समेत बरामद गरेको जनाएको छ।

कम्बोडियाका प्रधानमन्त्री हुन मानेटको आदेशमा अपरेसन चलाइएको हो। अनुसन्धान अनुसार इन्स्टाग्राम, युट्युब र टेलिग्राम जस्ता सामाजिक सञ्जालमार्फत रोजगारको झूटो प्रलोभन देखाएर युवाहरूलाई कम्बोडिया, लाओस् वा म्यानमार पुर्‍याइन्छ। उनीहरूलाई सिंगापुर, थाइल्यान्ड वा दुबई हुँदै तस्करी गरिन्छ।

राहदानी खोसेर साइबर अपराधमा जबरजस्ती प्रयोग गरिने खुलासा भएको छ। पीडितहरूलाई क्रेडिट कार्ड ठगी, क्रिप्टोकरेन्सी घोटाला, हनीट्र्याप र डिजिटल गिरफ्तारी जस्ता अनलाइन अपराध गर्न बाध्य पारिन्छ। विरोध गर्नेहरूलाई हिंसा र यातना दिइने गरिन्छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार