पोखरा : सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट बिना जानकारी बेपत्ता भएका हायु परिवारका १६ सदस्य पोखरामा सुरक्षित अवस्थामा फेला परेका छन् ।
उर्मिला हायुसहितको परिवार सोमबार बेलुका पोखरा महानगरपालिका–३० गगनगौडास्थित एक घरमा बसिरहेको अवस्थामा प्रहरीले फेला पारेको हो।
सिसुवा इलाका प्रहरी कार्यालयका प्रमुख श्रवण विकका अनुसार सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा उनीहरू कोठा भाडामा लिएर बसेका थिए ।
“हिजो साँझ आफन्त र जनप्रतिनिधिको रोहबरमा उनीहरू जहाँ बसेको थिए, त्यहीँ राखिएको छ”, प्रमुख विकले जानकारी दिए, “सामान्य सोधपुछपछि थप अनुसन्धान भइरहेको छ ।”
प्रारम्भिक अनुसन्धानमा घरमा बारम्बार बिरामी परिरहने, बालबालिकाको स्वास्थ्यसम्बन्धी समस्या देखिने र स्थानीय धामीले समेत उक्त स्थान ‘सन्चो छैन’ भन्दै सल्लाह दिएपछि हायु परिवारले एकाएक स्थान परिवर्तन गरेको प्रहरी स्रोतले जनाएको छ।
अहिले उनीहरू पोखरामा सुरक्षित रहेका छन् भने घटनाबारे थप सत्य तथ्य पत्ता लगाउन अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया