अब ऋण सस्तो हुँदै ! बैङ्कहरूको आधार दर ५% मुनि झर्‍यो — कुन बैङ्कको कति?

विहीबार, १५ साउन २०८२

काठमाडौँ : वाणिज्य बैङ्कहरूको आधार दर (बेस रेट) तीन वर्ष यताकै सस्तो भएको छ । नेपाल राष्ट्र बैङ्कले ब्याजदर कोरिडोर घटाएपछि बैङ्कहरूले निक्षेपको ब्याजदर घटाएका हुन्, जसको प्रत्यक्ष असर बेस रेटमा परेको हो ।

साउन महिनाका लागि वाणिज्य बैङ्कहरूले सार्वजनिक गरेको औसत बेस रेट ६.१० प्रतिशतमा झरेको छ, जुन २०७८ माघपछि पहिलो पटक यति तल्लो विन्दुमा पुगेको हो । गत वर्ष साउनमा औसत ७.६२ प्रतिशत रहेको बेस रेट अहिले १.५२ प्रतिशत बिन्दुले घटेर ६.१० प्रतिशतमा झरेको हो ।

२०७९ पुसमा बेस रेट १०.७८ प्रतिशतसम्म पुगेको थियो । त्यति बेलादेखि निरन्तर घटिरहेको यो दरमा राष्ट्र बैंकका नयाँ गभर्नर डा. विश्वनाथ पौडेलले जारी गरेको मौद्रिक नीतिले थप दबाब बनाएको छ । सो नीतिअनुसार ब्याजदर कोरिडोरको माथिल्लो र तल्लो सीमा दुवै घटेपछि बैङ्कहरूले निक्षेपमा दिँदै आएको ब्याजदर ०.२५ प्रतिशतले घटाएका छन् ।

राष्ट्रिय वाणिज्य बैङ्कको ऋण सबैभन्दा सस्तो

२० वाणिज्य बैङ्कमध्ये २ बैङ्कको मात्रै बेस रेट ५ प्रतिशतभन्दा तल छ । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्कको बेस रेट ४.८९ प्रतिशत रहेको छ भने विदेशी स्वामित्वको स्ट्याण्डर्ड चार्टर्ड बैङ्कको बेस रेट ४.९० प्रतिशत छ । यी दुवै बैङ्कबाट ऋण लिनु सबैभन्दा सस्तो हुने देखिन्छ ।

अन्य प्रमुख बैङ्कहरूको सस्तो दर

  • एभरेष्ट बैङ्क : ५.३५%

  • नेपाल बैङ्क : ५.६३%

  • ग्लोबल आईएमई बैङ्क : ५.७६%

  • नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क : ५.७८%

  • नबिल बैङ्क : ५.८३%

अधिकांश बैङ्कको आधार दर ६–७ प्रतिशतबिच

सरकारी र निजी क्षेत्रका धेरै बैङ्कहरूको बेस रेट ६ प्रतिशतदेखि ६.६६ प्रतिशतबिच छ । कृषि विकास बैङ्क, सानिमा, एनएमबी, नेपाल एसबीआई, माछापुच्छ्रे, सिद्धार्थ, सिटिजन्स, लक्ष्मी सनराइज, कुमारी, प्राइम कमर्सियल, हिमालयन र प्रभु बैङ्क यस समूहमा पर्छन् ।

सबैभन्दा महँगो ऋण एनआईसी एसिया बैङ्कबाट

विगतमा महँगो दरमा निक्षेप सङ्कलन गरेका कारण एनआईसी एसिया बैङ्कको बेस रेट हाल ७ प्रतिशतभन्दा माथि छ । त्यसैले, अहिले ऋण लिँदा यस बैङ्कबाट सबैभन्दा महँगो पर्न आउँछ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार