विराटनगर : विराटनगर महानगरपालिकाले उपभोक्ता ठगीको गुनासोपछि बजार अनुगमन गर्दै खसीको नाममा बाख्राको मासु बेच्ने तीन मासु पसलमा कारबाही गरेको छ। अनुगमनका क्रममा ती पसलबाट २५ किलो बाख्राको मासु बरामद गरी नष्ट गरिएको हो।
बिहीबार महानगरको अनुगमन टोलीले विराटनगर–९ स्थित पुरानो गुद्री क्षेत्रका मासु पसलहरूमा छापा मारेको थियो। पशुपंक्षी महाशाखाका प्रमुख हीरालाल यादवका अनुसार, उपभोक्ताबाट खसी भन्दै बाख्राको मासु बेचेको गुनासो आएपछि टोली सक्रिय भएको हो।
यादवका अनुसार, अलिहसन मियाँको मासु पसलबाट १५ किलो र सोहराव कुरेसी तथा न्यू जावेद मासु पसलबाट ५–५ किलो गरी कुल २५ किलो बाख्राको मासु फेला परेको थियो। बरामद गरिएको सबै मासु तत्कालै नष्ट गरिएको उनले बताए।
त्यसैगरी, अनुगमन टोलीले विराटनगर–९ स्थित मल्लिक मिट सेन्टर, न्यू गाउँले फ्रेस हाउस र विराटनगर–११ का करिया मिट सेन्टर तथा कञ्चन फ्रेस हाउसलाई समेत सरसफाइ र मापदण्डमा कमजोरी देखिएकाले सचेत गराएको छ।
ती पसलहरूलाई अन्तिम चेतावनी दिँदै सुधार गर्न निर्देशन दिएको यादवले जानकारी दिए। महानगरले उपभोक्ताको स्वास्थ्य र हितलाई ध्यानमा राख्दै मासु व्यवसायमा कडाइका साथ अनुगमन जारी राख्ने जनाएको छ।
प्रतिक्रिया