औषधि व्यवसाय संकटमा परेको भन्दै कानुन संशोधनको मागसहित ध्यानाकर्षण

शुक्रबार, १६ साउन २०८२

काठमाडौँ : नेपाल औषधि व्यवसायी संघले औषधि व्यवसाय संकटतर्फ उन्मुख भएको जनाउँदै व्यवसायसँग सम्बन्धित प्रमुख समस्याहरूप्रति गम्भीर ध्यानाकर्षण गराएको छ । संघले औषधि ऐनको संशोधन व्यवसायमैत्री ढंगले हुनुपर्ने जोड दिँदै विभिन्न नीतिगत र व्यवहारिक समस्याको तत्काल समाधान माग गरेको हो । 

संघका अध्यक्ष दिपेन्द्र कुमार साह र महासचिव नविनराज गौतमद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ,“हालको आर्थिक मन्दी, व्यवसायिक तरलता तथा नीतिगत अस्पष्टताले औषधि व्यवसाय निकै चुनौतीपूर्ण अवस्थामा पुगेको छ ।” औषधि व्यवसायका थोक, खुद्रा, आयात तथा उत्पादन क्षेत्रका समस्या एकीकृत ढंगले समाधान गर्न संघलाई अझ सुदृढ र एकढिक्का बनाउनुपर्ने आवश्यकता औंल्याइएको छ । 

संघले जारी गरेको क्षतिपूर्ति नियमावली अक्षरशः कार्यान्वयन गरिनुपर्ने केन्द्रको निर्देशनलाई स्मरण गराउँदै, झापा, मोरङ र सुनसरी जिल्लाले एमआर चेक नजारी गर्ने निर्णयलाई अनुमोदन गरेको जानकारी दिइएको छ । साथै, आयातकर्ता तथा उत्पादकहरुले प्रत्येक थोक व्यवसायीलाई आधिकारिक प्रमाणपत्र तुरुन्तै उपलब्ध गराउन पनि संघले अपिल गरेको छ ।

संशोधित हुन लागेको औषधि ऐनप्रति संघले गम्भीर चासो व्यक्त गर्दै प्रदेश समिति र केन्द्रीय समितिलाई व्यवसायिक हितमैत्री संशोधन सुनिश्चित गर्न आग्रह गरेको छ । स्वास्थ्य बीमाअन्तर्गतको औषधि सेवा अस्पताल फार्मेसीमा मात्र सीमित राखिएकोप्रति आपत्ति जनाउँदै संघले यसबाट व्यवसायी पलायन हुने खतरा देखिएको र उक्त निर्णय तत्काल खारेज गरिनुपर्ने माग गरेको छ ।

आयात गरिएका वस्तु चिकित्सकहरुले सिफारिस गरे पनि एक निकायले ती वस्तु जबरजस्ती जफत गर्ने कार्यको अन्त्यका लागि संघले स्पष्ट कार्यविधि माग गरेको छ । संघको लोगो प्रयोग गरी गैरदर्ता व्यवसायीले व्यवसाय सञ्चालन गरिरहेको विषयमा आपत्ति जनाउँदै संघले यस्ता व्यवसायीमाथि कडा निगरानी गर्न आग्रह गरेको छ । 

साथै, अस्पताल फार्मेसीमा आपूर्ति गरिने औषधि सम्बन्धित जिल्लाका थोक व्यवसायीलाई जानकारी दिएर मात्र गरिनुपर्ने र सबै औषधिमा “एनडीए” छाप अनिवार्य गरिनुपर्ने माग पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । संघका अध्यक्ष दिपेन्द्र कुमार साहले संघ स्थापनाको ५२ वर्ष पुगेको अवसरमा व्यवसायको संरक्षण, ऐनको व्यावसायिक हितमा संशोधन र व्यावसायिक अनुशासनको सुदृढीकरणमा सबै सरोकारवालाको सहकार्य अपरिहार्य रहेको बताएका छन् ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार