‘बुलेट’ चाउचाउमा विषाक्त तत्त्व भेटिएपछि कारबाही : क्वालिटी समूहमाथि पुनः गुणस्तर विवाद

शनिबार, १७ साउन २०८२

मोरङ : मोरङको कटहरीस्थित क्वालिटी थाई फुड प्रालिले उत्पादन गरेको ‘बुलेट’ ब्रान्डको चाउचाउमा स्वास्थ्यका लागि हानिकारक विषाक्त तत्त्व भेटिएपछि कारबाही गरिएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नुवाकोटको विदुर नगरपालिका–१, त्रिशूलीस्थित एस.के. स्टोर्सबाट सङ्कलन गरेको पाँच वटा नमुनाको परीक्षण गर्दा त्यसमध्ये एक्सट्रयाक्टेड फ्याट एसिड ७.५ र पेरोक्साइड भ्यालु ३४.९ पाइएको हो, जुन सरकारी मापदण्डभन्दा धेरै गुणा बढी हो।

विशेषज्ञहरूका अनुसार फ्याट एसिड र पेरोक्साइड भ्यालु बढी हुनुको अर्थ त्यहाँ बासी वा कमसल तेल प्रयोग भएको हो, जसले अक्सिडेटिभ स्ट्रेस, क्यान्सर, तथा पाचन प्रणालीमा गम्भीर असर पुर्‍याउने सम्भावना हुन्छ।

विषाक्तता पुष्टि भएपछि विभागले कारबाही प्रक्रिया अघि बढाउँदै मिसिल खाद्य गुण नियन्त्रण कार्यालय विराटनगरमा पठायो। त्यसपछि माघ २८ गते अनुसन्धान सुरु भई चैत ७ गते जिल्ला प्रशासन कार्यालय मोरङमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ४० (च) बमोजिम मुद्दा दायर गरिएको हो।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको इजलासले कम्पनीका क्वालिटी कन्ट्रोल म्यानेजर पूजन कोइरालालाई दोषी ठहर गर्दै रु. ५,००० जरिवाना गर्ने फैसला सुनाएको छ। यद्यपि सरकारी वकिल कार्यालयले ६ महिनासम्म कैद वा ६ लाख रुपैयाँसम्म जरिवानाको माग गरेको थियो।

यसअघि पनि क्वालिटी समूहको क्वालिटी आयल प्रालिले उत्पादन गरेको सूर्यमुखी तेलमा गुणस्तर नपुगेको पुष्टि भइसकेको छ। उक्त मुद्दा हाल मोरङ जिल्ला प्रशासन कार्यालयमा विचाराधीन छ।

काठमाडौँ महानगरपालिकाले पनि सोही तेलमा मापदण्ड नपुगेको भन्दै कम्पनीलाई १० लाख रुपैयाँ जरिवाना गरिसकेको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका अनुसार चालु आर्थिक वर्षमा मात्रै १० वटा उद्योगविरुद्ध गुणस्तरहीन उत्पादनको अभियोगमा मुद्दा दायर गरिएको छ। तीमध्ये दुगड स्पाइसेज, सूर्योदय मिल्क एण्ड बेभरेज, गङ्गा पेयजल, खेतान चिया, गोमती फुड्स, निधि फुड, मकालु एकुवा जस्ता उद्योगहरू रहेका छन्।

बारम्बार गुणस्तरहीन उत्पादनको आरोप लागे पनि क्वालिटी समूहले सुधार नगरेको भन्दै उपभोक्ता अधिकारकर्मीहरूले गम्भीर आपत्ति जनाएका छन्। उनीहरूले स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने खाद्य पदार्थमा यस्ता लापरबाही रोक्न कडा कारबाहीको माग गरेका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार