ताप्लेजुङ : ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–४ आहालेमा एक युवाले आफ्नै भाइको हत्या गरेका छन्।
२२ वर्षीय मनकुमार विकले शुक्रवार साँझ ६ बजे सामान्य विवादका क्रममा २० वर्षीय भाइ रोशन विकमाथि खुकुरी प्रहार गर्दा घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय दोभानबाट खटिएको टोलीले मनकुमारलाई खुकुरीसहित नियन्त्रणमा लिएको छ।
अहिले उनलाई जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा राखेर थप अनुसन्धान भइरहेको छ। प्रहरीका अनुसार दाजुभाइबिच लामो समयदेखि घरेलु विवाद हुँदै आएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
प्रतिक्रिया