इनरुवा : सुनसरीको भीमनगर बोर्डर भएर नेपाल भित्र्याइँदै गरेको नक्कली नोटसहित दुई जना पक्राउ परेका छन् ।
यो घटनाले सीमा सुरक्षाको कमजोरीका कारण तस्करी र आपराधिक गतिविधि बढ्दै गएको पुष्टि हुन्छ ।
जाली नोटसहित पक्राउ पर्नेमा सप्तरीको हनुमान कंकालिनी नगरपालिका–२ का २६ वर्षीय राजेशकुमार रजक र सोही नगरपालिका–१ का २५ वर्षीय राजेश चमार रजक रहेका छन् ।
भारतबाट नक्कली नोट ल्याउँदै गर्दा कोशी गाउँपालिका–८ स्थित भीमनगर बोर्डर पोस्टमा उनीहरूलाई पक्राउ गरिएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले बताए ।
उनका अनुसार लु ९२ प २३८० नम्बरको मोटरसाइकलमा सवार दुई जनामध्ये पछाडि बसेका राजेश चमार रजकको साथबाट नेपाली एक हजार दरका ३८ थान नक्कली नोट फेला परेको हो ।
प्रहरीले एक हजार दरका ३८ वटा नक्कली नोट बरामद गरेको थियो । बरामद भएको नक्कली नोटसहित पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ ।
नक्कली नोट ओसारपसारमा प्रयोग गरिएको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुवै जनामाथि थप अनुसन्धान भइरहेको डीएसपी खतिवडाले बताए । उनीहरूमाथि अनुसन्धान गरेर जाली नोटको कारोबारमा अन्य व्यक्ति संलग्न छन् कि छैनन् भनेर पत्ता लगाउने प्रयास प्रहरीले गरिरहेको हो ।
खुला सीमाको फाइदा उठाउँदै तस्करी, बैंकिङ प्रणालीमा खतरा
भारतसँग सिमाना जोडिएको भीमनगर बोर्डर तस्करीको प्रमुख मार्गको रूपमा चिनिँदै आएको छ । दैनिक रूपमा औषधि, मदिरा, खाद्यान्न, सुनचाँदी र हाल नक्कली नोटसम्मको अवैध ओसारपसार भइरहेको स्थानीयको गुनासो छ।
नक्कली नोट नेपाल भित्रिन थालेपछि देशको बैंकिङ प्रणालीमाथि समेत खतरा बढेको सङ्केत देखिएको छ ।
सुरक्षा निकायले सीमा क्षेत्रमा निगरानी बढाउने दाबी गरे पनि पटक–पटक भइरहेका यस्ता घटनाले बोर्डर व्यवस्थापन कमजोर भएको पुष्टि गरेको छ ।
सुनसरी प्रहरीले बोर्डर क्षेत्रमा तस्करी नियन्त्रणका लागि विशेष अभियान सञ्चालन भइरहेको जनाएको छ । तर, खुला सीमा र चेकजाँच प्रणालीको कमजोरीका कारण तस्करी नियन्त्रणमा चुनौती थपिएको छ ।
प्रतिक्रिया