तुर्कमेनिस्तान : प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनका कारण उत्पन्न चुनौतीहरुको सामनाका लागि विश्वव्यापी सहकार्य र साझेदारी बढाउन जोड दिएका छन् । भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा आज आयोजित ‘जलवायु परिवर्तनका कारण सिर्जित प्रकोपमा भूपरिवेष्ठित विकासशील देशहरुले अवलम्बन गर्नुपर्ने अनुकूलन क्षमताको अभिवृद्धि र लचिलोपन’ विषयका छलफल सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालले कार्बन उत्सर्जनमा अति न्यून योगदान गरे पनि नेपालले जलवायु परिवर्तनको प्रतिकूल असर भोगिरहेको बताएका हुन् ।
प्रधानमन्त्री ओलीले दिगो विकासको चुनौती सामनाका लागि समन्वयात्मक काम गर्न आग्रह गर्दै नेपालको हिमाल पग्लने क्रमले मानवीय र भौतिक जोखिम हुने गरेकाले जलवायु परिवर्तनमा हिमालदेखि समुद्रसम्मको रक्षाको अवधारणाका साथ सगरमाथा संवाद कार्यक्रम आयोजना गरिएको स्मरण गराए । उनले नेपालले जलवायु जोखिम न्यूनीकरणका लागि दीर्घकालीन एकीकृत अनुकूलन रणनीति पनि तयार गरेकाले सोको कार्यान्वयनका लागि विदेशी साझेदार संस्थाहरुले पनि सघाउनुपर्नेमा जोड दिए ।
“हिमालय प्राकृतिक रिचार्ज सिस्टम भएकाले हिमाल पग्लन र समुद्रको तापक्रम बढ्न नदिन विश्वव्यापी साझा प्रयास आवश्यक छ”, प्रधानमन्त्री ओलीले भने, “दिगो विकासका लक्ष्यको प्राप्ति गर्न समन्वयात्मक र एकीकृत प्रयासका लागि हामीले विश्वव्यापी साझा प्रयासलाई अझ गति दिनुको विकल्प छैन । यसमा नेपालकोतर्फबाट उचित सहकार्य हुनेछ ।”
सम्मेलनका क्रममा प्रधानमन्त्री ओलीका आजका लागि निर्धारित औपचारिक कार्यक्रमहरु सकिएका छन् ।
प्रतिक्रिया