इलाम । राष्ट्रिय परीक्षा बोर्डको कक्षा १२ को नतिजामा इलामका निशान श्रेष्ठ कोशी प्रदेशका दोस्रो तथा नेपालभरिका शीर्ष ४ उत्कृष्ट विद्यार्थीमध्ये एक बन्न सफल भएका छन्। जिपिए ३.९२ ल्याएका श्रेष्ठ इलाम जिल्लाबाट प्रथम स्थानमा उक्लिएका हुन्।
जुविलेन्ट इलाइट एकेडेमी इलामका विज्ञान संकायका विद्यार्थी श्रेष्ठको यस उत्कृष्ट नतिजाको कदर गर्दै विद्यालयले उनलाई एक लाख रुपैयाँ नगदसहित सम्मान गर्ने घोषणा गरेको छ। विद्यालयका अनुसार, निशानको सम्मान आगामी भदौ २ गते बाल दिवसको अवसर पारेर आयोजना हुने विशेष कार्यक्रममा गरिनेछ।
त्यस्तै, सोही विद्यालयका अर्का विद्यार्थी प्रसन्न घिमिरेले ३.७८ जिपिए ल्याउँदै इलाम जिल्लामा दोस्रो स्थान हासिल गरेका छन्। उनलाई पनि विद्यालयले २५ हजार रुपैयाँ नगद पुरस्कारसहित सम्मान गर्ने जनाएको छ।
विद्यालयले विज्ञान संकायमा देखिएको यस उपलब्धिलाई आगामी शैक्षिक वर्षहरूका लागि प्रेरणादायी उपलब्धि मानेको छ।
प्रतिक्रिया