इलाम । इलाममा ट्राफिक नियम उल्लंघन गरे अब सडकमा नगद तिर्दै रसिद लिने परिपाटी हटाइएको छ । अबदेखि कारबाहीमा परेकाले ट्राफिक जरिवाना बैंक खातामार्फत वा डिजिटल माध्यमबाट तिर्नुपर्ने व्यवस्था लागू गरिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामका प्रमुख लीलानाथ नेउपानेका अनुसार ट्राफिक कारबाहीबाट संकलन हुने राजस्व अब नगदमा संकलन नहुने भएको हो । ट्राफिक प्रहरीलाई बारम्बार ‘नगद उठाउने’ भन्नेजस्ता आरोप लाग्दै आएको भन्दै त्यसको अन्त्यका लागि साउन १ गतेदेखि नयाँ प्रणाली लागू गरिएको नेउपानेले जानकारी दिए ।
नयाँ प्रणालीअनुसार कारबाहीमा परेका व्यक्ति अब सिधै बैंकको काउण्टर वा क्युआर स्क्यान गरेर मोबाइल बैंकिङमार्फत राजस्व तिर्न सक्नेछन् । हाल इलाम बजारको जिरो किलोमिटर क्षेत्रमा उक्त व्यवस्था प्रभावकारी रूपमा लागू गरिएको छ भने आगामी दिनमा जिल्लाभर विस्तार गर्ने तयारी गरिएको जनाइएको छ ।
यस प्रणालीले पारदर्शिता, उत्तरदायित्व र ट्राफिक प्रशासनमा नागरिकको विश्वास बढाउने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया