संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालय इलाममा तालाबन्दी

शुक्रबार, २३ साउन २०८२
तस्बिर : फाइल

इलाम : संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालय इलाममा शुक्रबार दिउँसो स्थानीय सरोकारवालाहरूले तालाबन्दी गरेका छन्। इलामस्थित कार्यालय अन्यन्त्र सार्ने तयारी गरिएको विरोधमा स्थानीय व्यवसायी संघसंस्थाको अगुवाइमा तालाबन्दी गरिएको हो।

निर्माण व्यवसायी संघ इलामको नेतृत्वमा उद्योग वाणिज्य संघ इलाम, होटल व्यवसायी संघलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले संयुक्तरूपमा कार्यालयको मूलगेटमा तालाबन्दी गर्दै विरोध प्रदर्शन गरेका हुन्। इलाम उद्योग वाणिज्य संघका अध्यक्ष चेतनाथ पौडेल (कृष्ण) ले आयोजनाको कार्यालय इलामबाट सार्ने निर्णयको तीव्र विरोध जनाउँदै यो कार्यक्रम गरिएको बताए।

उनका अनुसार यो कार्यालय इलामसहित पूर्वी पहाडी जिल्लाहरूमा खानेपानी तथा ढल व्यवस्थापन सेवा दिँदै आएको छ। “कार्यालय सार्दा सेवा प्रवाहमा झन्झट र असहजता बढ्छ, त्यसैले विरोध गर्नु परेको हो,” अध्यक्ष पौडेलले बताए।

विरोधमा उत्रिएका स्थानीय सरोकारवालाहरूले कार्यालय सार्ने निर्णय तत्काल खारेज नगरे थप कडा आन्दोलनका कार्यक्रम ल्याउने चेतावनी समेत दिएका छन्। उनीहरूले इलामजस्तो दुर्गम भेगमा सेवा केन्द्रित रहनुपर्ने माग गर्दै इलामवासीको अधिकार संरक्षणका लागि एकजुट भएर दबाब दिन आह्वान गरेका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार