भक्तपुर : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र शुद्धीकरण, आत्मसमीक्षा र आत्मविश्वासको खाँचो रहेको बताएका छन्। आज बालकोटमा आयोजित स्व. श्यामबहादुर कार्कीको १८औँ स्मृति सभामा बोल्दै उनले आत्मविश्वास हराएको पार्टीले देश सम्हाल्न नसक्ने भएकाले सबैले गम्भीर आत्मसमीक्षासहित पार्टी निर्माणमा लाग्नुपर्नेमा जोड दिए।
महामन्त्री थापाले देशका समस्याको समाधान दिनुपर्ने पार्टीमै आत्मविश्वास कमजोर देखिएको उल्लेख गर्दै, “नेपाली समाजमा असन्तुष्टि छ, नागरिक रिसाएका छन्। यसबाट देशलाई बाहिर निकाल्ने जिम्मा कांग्रेसको काँधमा छ,” भने। उनले चुनाव हारिन्छ कि भन्ने डरका कारण राजनीति कमजोर बन्दै गएको बताउँदै त्यो डर त्यागेर कांग्रेसलाई बलियो बनाउन अग्रज नेताको मार्गनिर्देशन पालना गर्न आग्रह गरे।
थापाले युवाको असन्तुष्टिलाई वास्तविक भावनाका रूपमा बुझ्न र त्यसलाई कदर गर्दै देशभित्र अवसर सिर्जना गर्न आवश्यक रहेको पनि बताए।
प्रतिक्रिया