गाजामा ५० प्रतिशत अस्पताल मात्र सञ्चालनमा, स्वास्थ्य सेवा चरम संकटमा

मंगलबार, २७ साउन २०८२
सांकेतिक फाईल

संयुक्त राष्ट्रसंघको स्वास्थ्य निकाय विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मंगलबार इजरायललाई गाजाको स्वास्थ्य संकटलाई ‘विपत्तिपूर्ण’ भन्दै गाजा सिटीमा कब्जा गर्नु अघि महत्वपूर्ण चिकित्सा सामग्री भण्डारण गर्न अनुमति दिन आग्रह गरेको छ ।

इजरायलले प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको सुरक्षा मन्त्रिपरिषद्को स्वीकृति अनुसार आफ्नो सेनाले गाजा सिटी नियन्त्रणमा लिने योजना अघि बढाउने बताएको छ, जसले विश्वभर आलोचना निम्त्याएको छ ।

“हामी आपूर्तिहरू संकलन गर्न चाहन्छौं । सबैले भन्छन्, ‘अझै मानवीय सहायता भित्रिन दिनुपर्छ’ — तर त्यो अझै पर्याप्त रूपमा भइरहेको छैन,” डब्लुएचओका फिलिस्तीनी क्षेत्र प्रतिनिधि रिक पीपरकोर्नले  बताए । 

उनका अनुसार, हाल ५२ प्रतिशत औषधिहरूको भण्डारण शून्य अवस्थामा छ । संयुक्त राष्ट्रसंघका निकायहरूले गत महिना गाजामा दुर्भिक्षको अवस्था आउन थालेको चेतावनी दिएका थिए, जसको कारण इजरायलद्वारा सहयोग आपूर्ति कडा रूपमा प्रतिबन्धित गरिएको हो ।

पीपरकोर्नले बताएअनुसार डब्लुएचओले आवश्यकभन्दा कम आपूर्ति मात्रै भित्र्याउन सकेको छ । “हामीले समाचारमा सुनिरहेकै अनुसार, सम्भावित आक्रमण अघि अस्पतालहरूलाई शीघ्र रूपमा आपूर्ति पु¥याउन चाहन्छौं,” उनले भने, “तर अहिलेको अवस्थामा त्यो सम्भव भएको छैन ।”

गाजामा मात्र ५० प्रतिशत अस्पताल र ३८ प्रतिशत प्राथमिक स्वास्थ्य केन्द्रहरू आंशिक रूपमा मात्र सञ्चालनमा छन् । उत्तरी गाजास्थित अल–शिफा अस्पतालमा शैय्या क्षमता २४० प्रतिशत पुगेको छ भने अल–आहली अस्पतालमा ३०० प्रतिशत छ ।

“हालको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर छ । भोकमरी र कुपोषण गाजालाई लगातार प्रभावित गरिरहेको छ,” उनले बताए । अगस्ट ५ सम्मको तथ्यांकअनुसार, कुपोषणका कारण यो वर्ष १४८ जनाको ज्यान गइसकेको छ ।

गत जुलाईमा ५ वर्षमुनिका करिब १२ हजार बालबालिका तीव्र कुपोषणबाट ग्रस्त भेटिएका, जुन अहिलेसम्म गाजामा एकै महिनामा देखिएको सबैभन्दा उच्च संख्या हो । तीमध्ये दुई हजार ५६२ बालबालिका गम्भीर कुपोषणबाट पीडित छन्, जसमध्ये ४० जना अहिले पनि उपचार केन्द्रमा छन् ।
 

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।

सम्बन्धित समाचार