युवा उद्यमी मञ्च कोशी प्रदेशको अधिवेशन सम्पन्न, सुशान प्रधान अध्यक्षमा चयन

शुक्रबार, ३० साउन २०८२

विराटनगर : नेपाली उद्योग परिसंघ–युवा उद्यमी मञ्च(CNIYEF) कोशी प्रदेशको दोस्रो अधिवेशन शुक्रबार विराटनगरमा सम्पन्न भएको छ। अधिवेशनले सुशान प्रधानलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ।

प्रधानको नेतृत्वमा निर्वाचित कार्यसमितिमा रजत साहेवाला, केशव राठी, कुनाल साह, सुसान्त न्यौपाने, टुसर टोडी, शरद जोशी, अश्वीनी गोल्छा र आयुष भगत रहेका छन्।

संस्था “एक व्यक्ति, एक वर्ष, एक कार्यकाल” भन्ने सिद्धान्तलाई आत्मसात गर्दै युवा उद्यमशीलतालाई प्रोत्साहित गर्दै आएको छ।

cnyef 1 1

निवर्तमान अध्यक्षको अनुभव र योगदान
निवर्तमान अध्यक्ष मुनान रिजालले आफ्नो कार्यकालमा संस्थालाई गतिशील बनाउन सफल भएको बताए। उनले आफ्नो नेतृत्वमा सम्पन्न पहिलो कोशी प्रदेश सूचना प्रविधि सम्मेलनले युवाहरूमा स्वरोजगार र उद्यमशीलताको चेतना जगाउन सहयोग पुगेको स्मरण गरे। रिजालको योगदानको कदर गर्दै उनलाई नेपाली उद्योग परिसंघ, कोशी प्रदेशको कार्यसमितिमा निरन्तर राखिएको छ।

नवनिर्वाचित अध्यक्षको प्रतिबद्धता
अध्यक्षमा चयन भएपछि सुशान प्रधानले संस्थाको आन्तरिक क्षमता विकासलाई प्राथमिकता दिने घोषणा गरे। उनले कोशी प्रदेशलाई आर्थिक प्रगतिका क्षेत्रमा अघि बढाउन र उद्यमशील युवाहरूलाई थप प्रोत्साहन गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्ने बताए। साथै, संस्थाले अघि सारेको ‘पिच पर्व १.०’लाई सफलतापूर्वक सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे।

सरकारको सहयोग र युवाको सम्भावना
अधिवेशनका प्रमुख अतिथि, कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले युवाहरूको सक्रियता र उद्यमशीलता नै प्रदेशको उज्ज्वल भविष्यको आधार भएको बताए।

“देशमा सम्भावना नदेखेर युवाहरू पलायन भइरहेका बेला कोशी प्रदेशमा देखिएको युवाको सक्रिय सहभागिताले यहाँ पनि ठूलो सम्भावना छ भन्ने प्रमाणित गरेको छ,” मन्त्री भण्डारीले भने।

rewati bhandari

उनले उद्यमशीलतालाई प्रोत्साहन गर्न प्रदेश सरकार सधैं सकारात्मक भएर सहयोग गर्ने स्पष्ट पारे।

सो अवसरमा संस्थाले आफ्ना गतिविधिलाई समावेश गरेर प्रकाशन गरेको म्यागजीन कोशी युथ क्रोनिकललाई समेत विमोचन गरिएको छ ।

युवाका लागि प्रेरणा

यो अधिवेशनले दिएको सन्देश स्पष्ट छ,'अवसर यहीँ छ, सिर्जना गर्ने शक्ति हामीमै छ। विदेश पलायन नगरी, यही माटोमा परिश्रम र सीप प्रयोग गरेर आत्मनिर्भर बन्न सकिन्छ। कोशी प्रदेशका युवाले अब आर्थिक समृद्धि, रोजगारी सिर्जना र नयाँ सोचका माध्यमबाट प्रदेशको पहिचान उजागर गर्न सक्ने वातावरण तयार भएको छ।'

यो पनि :-

पिच फ़ेस्ट १.० : जोश, सम्भावना र स्टार्टअपको नयाँ युग !

bord member

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार