पिच फ़ेस्ट १.० : जोश, सम्भावना र स्टार्टअपको नयाँ युग !

शुक्रबार, ०९ साउन २०८२

इटहरी : नेपाली उद्योग परिसंघ–युवा उद्यमी मञ्च (CNIYEF) कोशी प्रदेशको स्थापना नोभेम्बर २०२२ (मंसिर २०७९) मा भएको हो । यसको मूल उद्देश्य युवाहरूलाई सिक्न, बुझ्न, उद्यम गर्न र प्रदेश तथा राष्ट्रको समग्र विकासमा योगदान दिन प्रेरित गर्ने प्लेटफर्म निर्माण गर्नु हो ।

(CNIYEF) कोशी स्थापना भएदेखि नै देश छोड्ने युवाहरूको संख्या घटाउने लक्ष्यमा केन्द्रित भएर विभिन्न कार्यक्रममार्फत युवालाई नेपालमै सम्भावना खोज्न उत्प्रेरित गर्दै आएको छ । मुख्य रुपमा युथ रिटेन्सन कार्यक्रम, युथ डेभलपमेन्ट तथा इम्प्लोइमेन्ट कार्यक्रम, आईटी समिट २०२५, क्याटालिस्ट सिडेड ट्रान्सफर्मेसन जस्ता महत्वपूर्ण कार्यक्रमहरु रहेका छन् । जसले प्रदेशमै रोजगारी र उद्यमशीलता विस्तारमा सहयोग पु¥याइरहेको छ ।

साथै, कोशी प्रदेश सरकारको बजेट निर्माण प्रक्रिया अघि, सिएनआईवाइइएफले सिएनआई इनक्युबेसन सेन्टर स्थापना गर्न सिफारिससमेत गरेको थियो, जुन बजेटमा समावेश भइसकेको छ । CNIYEF कोशी अहिले नेपालमै अवसर खोज्न चाहने युवाहरूको बलियो सञ्जाल बनेको छ र अब एक कदम अगाडि बढ्दै पिच फ़ेस्ट १.० नामक कार्यक्रमको आयोजना गर्न लागिएको छ जुन सुरुआती चरणमा रहेका उद्यमीहरूको लागि अत्यन्तै उपयोगी र ऐतिहासिक हुनेछ ।

यही कार्यक्रमका बारेमा थप जान्न र बुझ्न, CNIYEF कोशी प्रदेश अध्यक्ष मुनान रिजालसँग गरिएको कुराकानीको अंश :

रिजालज्यू, CNIYEF कोशीको मुख्य उद्देश्य के हो ? अघिल्लो केही वर्षमा कसरी विकास हुँदै आएको छ?

धन्यवाद यो प्रश्नका लागि । अहिले लगभग चार वर्ष पुग्न लागेको छ । CNIYEF कोशी सुरु भएको । सुरुदेखि अहिलेसम्म हामी एउटै उद्देश्यमा लागिरहेका छौं युवाहरूलाई नेपालमै अवसर दिनु, ताकि उनीहरूले देश छोड्न नपरोस् ।

सिधा रूपमा भन्नुपर्दा हामी हरेक दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको डिपार्चर गेटमा देखिने भीड घटाउने सपना बोकेर अगाडि बढिरहेका छौं । हामी चाहन्छौं युवाहरू यहीँ सपना देखून्, यहीँ व्यवसाय सुरू गरून्, र यहीँ सफल होऊन् ।

पिच फ़ेस्ट १.० के हो ? र अरू कार्यक्रमहरूभन्दा यो फरक किन छ ?

पिच फ़ेस्ट १.० नेपालकै पहिलो रियालिटी शो– जस्तो स्टार्टअप र प्रोटोटाइप पिचिङ प्रतियोगिता हो । यो केवल आइडिया प्रतियोगिता होइन — यो वास्तवमै केही बनाउँदै गरेका उद्यमीहरूलाई पहिलोपटक मञ्चमा ल्याउने अवसर पनि हो ।

सार्क ट्यांक नेपाल जस्ता ठूला कार्यक्रमहरूको आगमनसँगै नेपालमा उद्यमशीलताको लहर चलीरहेको बेला, हामीलाई लाग्छ, अहिले नै पिच फ़ेस्ट १.० सुरु गर्न सबैभन्दा उपयुक्त समय हो। यो कार्यक्रम तिनीहरूका लागि हो, जो उद्यमशील यात्राको सुरुआती चरणमा छन् — जसले अझै ठूलो फड्को मार्न बाँकी छ, तर जसमा सम्भावना, जोश, र आफ्नो आइडिया अगाडि बढाउने अठोट छ।

pinch fest

यो प्रतियोगिता प्रोफेसनल रूपमा खिचिनेछ र एपिसोडहरूमा सार्वजनिक गरिनेछ, जसले उनीहरूलाई प्रचार र आत्मविश्वास दुवै दिन्छ ।

तपाईंहरू कस्ता सहभागीहरू खोज्दै हुनुहुन्छ?

हामी सुरुआती चरणमा रहेका उद्यमीहरू, विद्यार्थी इनोभेटरहरू, र प्रोटोटाइप बनाएर काम गरिरहेका टिमहरूलाई आमन्त्रित गर्दैछौं । हामी पूर्णता खोजिरहेका छैनौं — हामी संभावना र चाहना खोजिरहेका छौं ।

हामीले कार्यक्रमको संरचना रजिस्ट्रेसन र स्क्रिनिङदेखि, अडिसन र मेन्टरशिप, अनि अन्तिम लाइभ पिचिङ राउन्डसम्म बनाएका छौं । मुख्य कुरा, टप थ्री मात्र होइन, केही चयन गरिएका सहभागीहरूलाई हाम्रो नयाँ सुरू भएको सिएनआई इनक्युबेसन सेन्टरमा सिधा इनक्युबेसनको अवसर दिइनेछ ।

किनकि टप थ्रीमध्ये कतिपय सहभागीहरू पहिले नै अगाडि पुगिसकेका हुन सक्छन् — तिनीहरूलाई इनक्युबेसन आवश्यक नहुन पनि सक्छ । त्यसैले हामी त्यस्ता सहभागीहरूलाई छान्नेछौं जो अझै बढ्न चाहन्छन्, तर थोरै सहयोग चाहिन्छ ।

यस कार्यक्रमले कोशी प्रदेश र नेपालका लागि दीर्घकालीन फाइदा कसरी पु¥याउँछ ?

पिच फ़ेस्ट जस्ता कार्यक्रमहरू स्थानीय स्तरमा उद्यमशीलता विकास गर्न, रोजगारी सिर्जना गर्न र नवप्रवर्तनलाई प्रोत्साहन दिन एकदमै महत्वपूर्ण हुन्छन् । 

हामी कोशी प्रदेशलाई नयाँ सोच, स्टार्टअप र इनोभेसनको केन्द्र बनाउन चाहन्छौं । यो कार्यक्रमबाट हामी नयाँ अनुहार, नयाँ व्यवसाय र भविष्यका लिडरहरू पत्ता लगाइरहेका छौं । यसले देशभित्रै अवसर बनाउने, विदेश जाने बाध्यता घटाउने र स्थानीय अर्थतन्त्र बलियो बनाउने दिशा दिन्छ ।

अन्त्यमा, तपाईं युवाहरूलाई के सन्देश दिन चाहनुहुन्छ?

सबै युवाहरूलाई म भन्न चाहन्छु — तपाईंलाई सुरु गर्न कसैले अनुमति दिनुपर्दैन । तपाईं आफैं तयार हुनुहुन्छ ।

पिच फ़ेस्ट १.० तपाईंहरूको लागि बनाइएको प्लेटफर्म हो । यहाँ तपाईं देखिन सक्नुहुन्छ, सिक्न सक्नुहुन्छ, र आफ्ना सपना अघि बढाउन सक्नुहुन्छ । हामी तपाईंहरूको साथमा छौं । नेपालको भविष्य हामी आफैंले बनाउने हो — यहीँ बसेर, यहीँ काम गरेर ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार