विकास बैङ्कको नाफामा २१% वृद्धि, मुक्तिनाथ र गरिमा शीर्षस्थ

शुक्रबार, ३० साउन २०८२

काठमाडौँ : अघिल्लो आर्थिक वर्षको तुलनामा विकास बैङ्कहरूको नाफा उल्लेखनीय रूपमा बढेको छ।

आव २०८१/८२ को अन्त्यसम्म १४ मध्ये १२ विकास बैङ्क नाफामा उक्लिएका छन्, जसमा ८ बैङ्कको नाफा अघिल्लो वर्षभन्दा बढी भएको छ।

सबैभन्दा प्रभावशाली प्रदर्शन मुक्तिनाथ विकास बैङ्कको रह्यो। यसले इतिहासकै उच्च नाफा कमाउँदै १ अर्ब ५० करोडभन्दा बढी आम्दानी गरेको छ, जुन ३० प्रतिशतभन्दा धेरै वृद्धि हो।

गरिमा विकास बैङ्कले पनि बलियो फड्को मार्दै १ अर्ब ३० करोडभन्दा बढी नाफा कमाएर दोस्रो स्थान ओगट्यो।

यसबीच,केही बैङ्क भने घाटामा डुबेका छन्। नारायणी डेभलपमेन्ट बैङ्क र कर्पोरेट डेभलपमेन्ट बैङ्कको वित्तीय स्थिति कमजोर देखिएको छ, जसमा नारायणीको घाटा करिब २.५ करोड र कर्पोरेटको १.६ करोडभन्दा बढी छ।

नाफाको वृद्धिमा सिन्धु विकास बैङ्कले सबैलाई पछि पार्दै २८७ प्रतिशत वृद्धि गरेको छ। उल्टो, ज्योति विकास बैङ्कको नाफा करिब ९३ प्रतिशत घटेको छ, जसले यसको वित्तीय दबाब झल्काउँछ।

तर, नाफा बढे पनि खराब कर्जा अनुपात (एनपीएल)को स्थिति सबैमा सुधारिएको छैन। पाँच विकास बैङ्कमा एनपीएल ५ प्रतिशतभन्दा माथि छ, जसले दीर्घकालीन जोखिम बढाएको छ।

विशेषगरी नारायणीको एनपीएल ५० प्रतिशतभन्दा बढी पुगेको छ, जुन अत्यन्तै चिन्ताजनक हो।

इपीएस (प्रतिसेयर आम्दानी) को अवस्थामा पनि मिश्रित तस्बिर देखिन्छ। ६ बैङ्कमा मात्र सुधार भएको छ भने बाँकीमा गिरावट आएको छ।

सिन्धु र गरिमा विकास बैङ्कको इपीएस उल्लेखनीय रूपमा बढेको छ, तर लुम्बिनी विकास बैङ्कमा सबैभन्दा ठूलो गिरावट आएको छ।

लाभांश क्षमतामा भने सकारात्मक सङ्केत देखिन्छ। अधिकांश विकास बैङ्क लाभांश वितरण गर्न सक्षम छन्, जसमा मुक्तिनाथ विकास बैङ्क शीर्षमा रहँदै २० प्रतिशतभन्दा बढी वितरण क्षमता देखाएको छ।

कामना सेवा, साइन रेसुङ्गा, मितेरी र गरिमा पनि दोहोरो अङ्कमा लाभांश दिन सक्ने अवस्थामा छन्।

समग्रमा, गत आव विकास बैङ्क क्षेत्रका लागि नाफाको दृष्टिले उज्यालो वर्ष रह्यो। तर, खराब कर्जा नियन्त्रण र इपीएस सुधारका क्षेत्रमा अझै चुनौतीहरू बाँकी छन्।

बजारमा प्रतिस्पर्धा बढ्दै जाँदा आगामी वर्ष यी बैङ्कहरूलाई दिगो वृद्धि र जोखिम व्यवस्थापनमा अझ ध्यान दिनुपर्ने देखिन्छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार