काठमाडौँ : नयाँ राजनीतिक दलका रूपमा निर्वाचन आयोग नेपालबाट २ भदौ २०७९ मा पार्टीको मान्यता पाएको नेकपा एकीकृत समाजवादी तीन जना बुढा नेताको हातमा परेको छ ।
पार्टीको प्रमुख पद अध्यक्षमा माधव नेपाल छन् भने दोस्रो वरीयता सम्मानित नेता झलनाथ खनाल र तेस्रो वरीयतासहित केन्द्रीय विभागहरूको संयोजन वामदेव गौतमले पाएका छन् ।
नेकपा एमालेमा अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको र पार्टीभित्र एकलौटी गर्दै फरक दृष्टिकोण राख्ने नेतालाई पाखा लगाउने नीति लिएको भन्दै एमाले परित्याग गरी माधव नेपालको नेतृत्वमा नेकपा एस गठन गरेका थिए । त्यसबेला एमालेका दर्जन बढी सांसद र केन्द्रीय कमिटीमा रहेका नेताहरू माधवसँग थिए । पार्टी स्थापनाको समयमा अध्यक्ष नेपाललाई डो¥याउँदै निर्वाचन आयोग लैजाने रामकुमारी झाँक्री, किसान श्रेष्ठ, प्रेम आलेसहितका युवा नेताहरू अहिले पार्टीमा निष्क्रिय छन् ।
सो पार्टीमा रहेका युवाहरू बाहिरिनेक्रम त्यत्तिकै छ । पछिल्लो पटक एमालेमै फर्कने युवाहरूसमेत कम छैनन् । वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबिच २ साउनमा एकता घोषणा भएको थियो ।
पार्टीलाई नयाँ नीति तथा कार्यक्रमसहित जनतामाझ लैजाने र एमालेसँग प्रतिस्पर्धी बनाउने उद्घोष गरेका नेताहरूले एमालेमै जीवन बिताएका माधव र झलनाथ पछि उनीहरूकै सहयात्री वामदेवलाई भित्र्याएका हुन् । यससँगै नेकपा एस वृद्धहरूको कब्जामा पुगेको छ । पार्टीको महाधिवेशनदेखि असन्तुष्ट बनेका केही युवा नेताहरू निष्क्रिय रहनु र कतिपयले पार्टी परित्याग गर्दा नेकपा एसमा युवाहरूको सङ्ख्या घट्दो छ ।
युवा आकर्षण गर्नुपर्ने नेतृत्वले आफ्नै समूहका बुढा नेताहरूलाई ल्याएर महत्त्वपूर्ण जिम्मेवारी दिएको भन्दै आन्तरिक असन्तुष्टि बढेको छ ।
पार्टी अध्यक्षसहित महत्त्वपूर्ण जिम्मेवारीमा वृद्ध नेताहरूको वर्चस्व हुँदै जाँदा भूगोलमा सङ्गठन गर्न खट्ने नेताहरूको खडेरी लाग्ने अवस्था नेकपा एसमा देखिएको असन्तुष्ट नेताहरूले टिप्पणी गरेका छन् । गत महाधिवेशनमा अध्यक्ष माधव नेपालकै हस्तक्षेपमा पार्टी स्थापनाका सहयोद्धा रामकुमारी झाँक्री, किसान श्रेष्ठ, प्रेम आलेसहितका युवा नेताहरूलाई महत्त्वपूर्ण जिम्मेवारीबाट पाखा लगाएको थियो ।
त्यसयता उनीहरू पार्टीका कुनै गतिविधिमा सक्रिय रूपमा लागेको देखिँदैन । पूर्वमन्त्रीसमेत रहेका नेता प्रेम आलेले नेकपा एसबारे खासै चासो नभएको प्रतिक्रिया दिए ।
‘मलाई डोटीका जनताले नेकपा एसबाटै जिताएर पठाएका हुन्,’ उनले भने, ‘नेकपा एसप्रति मेरो कुनै प्रतिक्रिया छैन । तर, नेतृत्वकै कारण पार्टी गम्भीर सङ्कटको डिलमा छ । हामीजस्ता धेरै नेताहरूलाई पार्टीका केही नेताहरूले पाखा लगाउनुभएको छ ।’ आफू सांसद रहुन्जेल कुनै राजनीतिक पार्टीमा नजाने तर त्यसपछिको परिस्थिति जे पनि हुन सक्ने आलेको भनाइ छ ।
नेकपा एकीकृत समाजवादीले वामदेव गौतमलाई पार्टीको तेस्रो वरीयतासहित समग्र केन्द्रीय विभागहरूको संयोजन गर्ने जिम्मेवारी दिइएको पार्टी प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए । शुक्रवार बसेको सचिवालय बैठकले तीन जनालाई पोलिटब्युरो र नौ जनालाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको उनले बताए ।
राजनीतिक दर्शन, सिद्धान्त, कार्यक्रम, रणनीति र कार्यदिशामा एकरूपता रहेको र नेपालको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न दुवै पार्टी सैद्धान्तिक रूपमा सहमत भएपछि एकताका सम्भव भएको नेताहरूले बताएका छन् । एकता प्रक्रियामा आएका गौतमसहित अन्य नेताहरूलाई शुक्रवार जिम्मेवारी तोकेको हो ।
तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबिच भएको एकता सर्वोच्च अदालतले भङ्ग गरेपछि वामदेव गौतमले २०७७ साल पुस २५ गते नेकपा एकता राष्ट्रिय अभियान घोषणा गरेका थिए । सुरुमा नेकपा एमालेमा जान खोजेका वामदेव पछि अध्यक्ष केपी शर्मा ओलीको अनिच्छाका कारण रोकिएर अन्ततः नेकपा एसमा प्रवेश गरेका हुन् ।
२००५ सालमा जन्मिएका उनी ७७ वर्ष भएका छन् । उमेरमा एमालेको सशक्त संगठकका रूपमा चिनिएका नेता गौतमबाट अब पार्टीमा सक्रियता बढ्ने अपेक्षा गर्न सकिँदैन । त्यस्तै, २००९ सालमा जन्मिएका नेकपा एसका अध्यक्ष नेपाल १३ वर्षको उमेरदेखि नै राजनीतिमा लागेको इतिहास छ ।
१५ वर्ष एमालेको नेतृत्व गर्दै सोही पार्टीबाट प्रधानमन्त्री भइसकेका ७३ वर्षीय नेपालको पनि उमेरका कारण सङ्गठन निर्माणमा सक्रियता स्वाभाविक घट्दै जानेछ । पार्टीका सम्मानित नेता झलनाथ खनाल २००६ सालमा जन्मिएका हुन् ।
एमालेको अध्यक्ष र प्रधानमन्त्री समेत भइसकेका खनाल ७६ वर्ष भइसकेकाले उनीबाट पनि सङ्गठन निर्माणमा ठुलो योगदान हुने सम्भावना नभएको नेकपा एसकै नेताहरूले बताएका छन् । नवप्रवेशी गौतमलाई पार्टीका सबै विभाग हेर्ने जिम्मेवारी दिएपछि ती सङ्गठनहरू थप निष्क्रिय हुने नेताहरूले संशय व्यक्त गरेका छन् ।
आजको मध्यान्न दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया