फरार १२२ कैदीबन्दी काठमाडौँबाट पक्राउ

विहीबार, ३० असोज २०८२

काठमाडौ। गत भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा विभिन्न कारागारबाट भागेका एक सय २२ फरार कैदीबन्दीलाई नेपाल प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँ, उपत्यका अपराध अनुसन्धान कार्यालय र सोमातहतको टोलीले जेनजी प्रदर्शनको मौका छोपेर भागेका एक सय २२ कैदीबन्दीलाई पक्राउ गरेको हो ।

पक्राउ परेकामध्ये चोरीमा ३५, बहुविवाहमा तीन, जबर्जस्ती करणीमा १७, कर्तव्य ज्यानमा तीन, लागुऔषधमा ३०, बैंकिङ कसुरमा तीन, ज्यान मार्ने उद्योगमा १२, सङ्गठित अपराधमा तीन जना कैदीबन्दी रहेका छन् ।

त्यसैगरी, डाँकाचोरीमा तीन, सवारी ज्यानमा तीन, ज्यानसम्बन्धी कसुरमा छ, मानव बेचबिखन एक र अन्य मुद्दामा तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले जानकारी दिए । उनका अनुसार पक्राउ परेकामध्ये एक सय १२ जना पुरुष र १० जना महिला छन् ।

प्रहरी वरिष्ठ उपरीक्षक थापाले प्रदर्शनको मौका छोपेर कारागारबाट भागेका कैदीबन्दीको खोजी भइरहेको बताए । उनले आफ्नो समाज, छरछिमेकमा विभिन्न कारागारबाट भागेका कैदीबन्दी बसेका हुनसक्ने भन्दै त्यस्तो देखिएमा प्रहरीलाई खबर गर्नसमेत आग्रह गरे ।

प्रहरीले आफ्नो वरपर पहिचान नखुलेका, नयाँ व्यक्तिहरूको बसोबास वा फरार थुनुवा, कैदीबन्दी रहेको सूचना भएमा नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको हटलाइन १०० मा सम्पर्क गरी जानकारी गराउन अनुरोध गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार