पाँच वर्षमा पनि बनेन दूधकोशीको चुहार पक्की पुल

विहीबार, ३० असोज २०८२

भोजपुर । भोजपुर र उदयपुरलाई जोड्ने दूधकोशी नदीमाथि निर्माणाधीन चुहार पक्की पुल पाँच वर्ष बितिसक्दा पनि अपूरो छ । विसं २०७७ मा दुई वर्षभित्र निर्माण सक्ने लक्ष्यसहित सुरु गरिएको सो पुल अहिले पनि अधुरो अवस्थामा छ ।

कोशी प्रदेश सरकारले रु २१ करोड २३ लाख १२ हजार लागतमा कालिका–प्यासेफिक जेभीलाई पुल निर्माणको जिम्मा दिएको थियो । सुरुमा दुवैतर्फ पिलर निर्माण सुरु भए पनि काममा निरन्तरता नपाएर वर्षौँदेखि रोकिएको छ ।

लामो समयदेखि अलपत्र बनेको पुल निर्माणमा ढिलाइ भएपछि भोजपुरका तीन स्थानीय तह—रामप्रसादराई, हतुवागढी र आमचोक गाउँपालिकाले संयुक्त बैठक बसेर प्रदेश सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेका छन् । रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राईका अनुसार पुल निर्माणमा भइरहेको ढिलाइले तीनवटै पालिकाका बासिन्दा प्रत्यक्ष प्रभावित भएका छन् ।

“प्रदेश सरकारले दुई वर्षमा बनाउने भनिएको पुल पाँच वर्षसम्म पनि बनेको छैन,” अध्यक्ष राईले भने , “हामी संयुक्त पहलमार्फत प्रदेश सरकारलाई काम अघि बढाउन दबाब दिनेछौँ । काममा ढिलाइ हुँदा नागरिकलाई प्रत्यक्ष असर परेको छ ।”

संयुक्त बैठकमा हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, आमचोक गाउँपालिका उपाध्यक्ष अशोक राईसहित तीनवटै पालिकाका प्रमुख प्रशासकीय अधिकृत र सरोकार भएका निकायका प्रतिनिधिहरू सहभागी थिए ।

दक्षिणी क्षेत्र हुँदै तराईका जिल्लासँग जोडिने प्रमुख मार्गका रूपमा रहेको चुहार पुल निर्माण रोकिएपछि स्थानीयवासी वर्षौँदेखि जोखिमपूर्ण रूपमा दूधकोशी पार गर्दै आवतजावत गर्न बाध्य छन् । विसं २०७७ असोज २७ गते शिलान्यास गरिएको यो पुलले भोजपुरको हतुवागढी–९ हसनपुर र उदयपुरको वेलका नगरपालिका–७ मैनामैनीलाई जोड्नेछ । पुलको लम्बाइ ९० मिटर र चौडाइ फुटपाथसहित साढे १० मिटर रहनेछ ।

स्थानीयवासीका अनुसार पुल बनेपछि यस क्षेत्रको आवागमन, व्यापार तथा सामाजिक सम्पर्कमा सहजता आउने अपेक्षा गरिएको छ । तर, निर्माणकार्य लामो समयदेखि ठप्प हुँदा उनीहरूमा निराशा बढ्दै गएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार