काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । आज बिहीबार सेयर बजार १८.४० अङ्क घटेको छ । योसँगै नेप्से २४८७ अङ्कमा झरेको छ ।
बजार बन्द हुँदाको आजको अङ्क गत वर्षको असोज १३ यताकै न्यून हो । केही दिनयता बजार निरन्तर ओरालो लागेको छ । पछिल्ला दुई कारोबार दिनदेखि घटिरहेको नेप्सेले आज सोही क्रमलाई निरन्तरता दिएको हो । आज सेन्सेटिभ इण्डेक्स १.७३ अङ्क घटेको छ भने फ्लोट इण्डेक्स १.१६ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६२ अङ्क घटेको छ ।
नेप्से घटेपनि कारोबार रकम भने सामान्य बढेको छ । अघिल्लो कारोबार दिन अर्थात् बुधवार ३ अर्ब १० करोडको सेयर खरिदबिक्री भएको बजारमा आज ३११ स्टकको ३६ हजार ५३१ पटकको कारोबारमा ३ अर्ब २७ करोड ५४ हजार रुपैयाँ बराबरको ७६ लाख ४३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।
आज हिमालयन पावर पार्टनरको सेयर मूल्य सर्वाधिक ९.९३ प्रतिशत बढेको छ । त्यस्तै, कालिका लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य साढे ५ प्रतिशतभन्दा बढी बढेको छ भने बाँकी स्टकहरूको मूल्य वृद्धिदर ४ प्रतिशतभन्दा कम रहेको छ । कारोबारमा आएको समाज लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य आज सर्वाधिक १० प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा मुक्तिनाथ विकास बैङ्क शीर्ष स्थानमा रहेको छ । सो बैङ्कको १५ करोड ३० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको १३ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ भने शिवम् सिमेन्ट्को कारोबार ११ करोड रुपैयाँ नाघेको छ ।
१३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ । आज बैंकिङ्ग र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको छ । कारोबारमा आएको अन्य उपसमूहको परिसूचक आज सर्वाधिक २.२१ प्रतिशत घटेको छ । त्यस्तै, विकास बैङ्क, वित्त र जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।
प्रतिक्रिया