धरान : पेडलर्स धरानको आयोजनामा शनिबार यहाँ ‘कोरा राइड साइक्लिङ च्यालेञ्ज’ सम्पन्न भएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित स्वास्थ्य र वातावरणमैत्री जीवनशैलीलाई प्रोत्साहन गर्न उक्त कार्यक्रम आयोजना गरिएको आयोजकहरूले जनाएका छन् ।
पेडलर्स धरानका अध्यक्ष किसान मास्केका अनुसार बिहान ७ बजे भानुचोकबाट सुरु भएको राइड पुतलीलाइन, दुर्गा चोक, मङ्गलबारे, जानकी चोक, फुस्रे, अमरहाट, विजयपुरस्थित दन्तकाली मन्दिर, बुढासुब्बा मन्दिर, देउराली, पानबारी, नयाँ बसपार्क, हरियाली चोक, दिपेन्द्र चोकलगायतका धार्मिक तथा पर्यटकीय स्थल हुँदै धरान–१७ साकेला पार्कमा पुगेर सम्पन्न भएको हो ।
करीब ३२ किलोमिटर दूरीमा सम्पन्न उक्त राइडमा दुई सय जना राइडर्स सहभागी भएको कार्यक्रम संयोजक विजय श्रेष्ठले जानकारी दिए । “सहभागी प्रत्येकबाट तीन सय रुपैयाँ शुल्क लिइएको हो । पेडलर्सले समाजसेवामा प्राथमिकता दिँदै सो शुल्कबाट कोष स्थापना गरी विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आएको छ,” श्रेष्ठले बताए ।
गत वर्षको ‘कोरा राइड’बाट सङ्कलन भएको रकमबाट धरान–१४ स्थित आधारभूत स्वास्थ्य केन्द्रलाई आवश्यक सामग्री र विद्यालयलाई शैक्षिक सामग्री प्रदान गरिएको अध्यक्ष मास्केले स्मरण गराए ।
राइडमा सहभागी सबै राइडर्सलाई टिसर्ट र प्रमाणपत्र प्रदान गरिएको थियो । सुनसरीका साथै झापा, मोरङलगायतका विभिन्न जिल्लाबाट समेत सहभागिता रहेको आयोजकहरूले जनाएका छन् ।
प्रतिक्रिया