बुटवल : लुम्बिनी प्रदेश क्रिकेट सङ्घका पूर्वअध्यक्ष तथा अन्तर्राष्ट्रिय अम्पायर सञ्जय गुरुङलाई नेपाल क्रिकेट सङ्घ (क्यान)ले कुनै पनि क्रिकेट गतिविधिमा संलग्न नगराउन निर्देशन दिएको छ ।
आइतबार क्यानका महाप्रबन्धक उत्सव ढुङ्गानाको हस्ताक्षरमा पठाइएको पत्रमा गुरुङलाई अम्पायरिङसहित कुनै पनि गतिविधिमा सहभागी नगराउन भनिएको छ ।
साउन १५ गतेको क्यान कार्यसमिति बैठकले निर्णय गरे पनि सो निर्णय प्रदेश क्रिकेट सङ्घलाई आइतबार मात्र पत्राचार गरिएको हो ।
क्यानले गुरुङले सङ्घविरुद्ध मुद्दा दायर गर्नुका साथै अध्यक्षविरुद्ध सञ्चारमाध्यममा मिथ्या आरोप तथा नकारात्मक टिप्पणी गरेको आरोप लगाएको छ ।
सोही आधारमा उनलाई कुनै पनि क्रिकेट गतिविधिबाट अलग गर्ने निर्णय गरिएको उल्लेख गरिएको छ ।
पत्रको प्रतिलिपि रुपन्देही जिल्ला क्रिकेट सङ्घ र नेपाल क्रिकेट अम्पायर्स तथा स्कोर सङ्घलाई समेत पठाइएको छ । रुपन्देही क्रिकेट सङ्घका सचिवसमेत रहेका गुरुङ क्यानको निर्णयसँगै सचिव पदबाट समेत अर्को निर्णय नहुँदासम्मका लागि निलम्बित भएका छन् ।
अन्तर्राष्ट्रिय अम्पायरसमेत रहेका गुरुङ अब क्यानको अर्को निर्णय नभएसम्म अम्पायरिङ गर्ने अधिकारबाट समेत वञ्चित हुने भएका छन् ।
प्रतिक्रिया