नक्कली सूचना र अफवाहमा नफस्न लगानीकर्तालाई नेप्सेको आग्रह

सोमबार, ०२ भदौ २०८२

काठमाडौँ : नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले पछिल्ला दिनमा सेयर बजारसम्बन्धी विभिन्न भ्रामक र नक्कली समाचार, स्टक टिप्स, सेयर किनबेचको सिफारिस, नक्कली वेबसाइट र सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने गतिविधि तीव्र बनेको भन्दै लगानीकर्तालाई सचेत रहन आग्रह गरेको छ।

नेप्सेका अनुसार यस्ता गतिविधिले सर्वसाधारण लगानीकर्ताको मनोबलमा प्रत्यक्ष असर पर्ने मात्र नभई गलत निर्णय लिन बाध्य बनाइरहेको छ। नेप्सेले कुनै पनि हितोपदेश, किन्ने वा बेच्ने सल्लाह नगर्ने स्पष्ट पार्दै, आफूबाट बाहेक अन्यत्रबाट आएको यस्ता सन्देशमा विश्वास नगर्न आग्रह गरेको छ।

WhatsApp Image 2025-08-18 at 19.01.06

नेप्सेले आफ्नो आधिकारिक वेबसाइट र सामाजिक सञ्जालमार्फत मात्र सूचना सार्वजनिक गर्ने जानकारी दिँदै, 'नेप्से' वा 'Nepse' नाममा नक्कली वेबसाइट, एप, ग्रुप वा पेज बनाउने तथा प्रयोग गर्ने कार्य दण्डनीय अपराध हुने चेतावनी दिएको छ।

त्यस्तै, अनधिकृत च्याट–ग्रुप, फेसबुक पेज, टेलिग्राम वा युट्युब च्यानलमार्फत सेयर बजारसम्बन्धी कारोबार नगर्न समेत आग्रह गरिएको छ। नेप्सेको नाममा व्यक्ति वा समूहको फोटो प्रयोग गरी नक्कली पेज, समूह वा खाता खोल्ने कार्य पनि गैरकानूनी हुने जनाएको छ।

शङ्कास्पद सामग्री देखिएमा स्क्रिनसट वा लिङ्कसहित नेप्सेलाई [email protected] मा पठाउन पनि नेप्सेले लगानीकर्तालाई अनुरोध गरेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार