काठमाडौँ : चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा घरजग्गा कारोबार सुस्ताउँदै गएको छ । कारोबार घटेसँगै यसबाट सङ्कलन हुने राजस्वमा समेत ठूलो गिरावट आएको छ ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत साउन महिनामा १ लाख ४ हजार २१८ कारोबार दर्ता भएका छन् ।
ती कारोबारबाट सरकारले जम्मा ३ अर्ब २८ करोड ९१ लाख ३८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । तर अघिल्लो वर्षको साउनमा भने १ लाख २७ हजार २०६ कारोबार दर्ता भई ३ अर्ब ८३ करोड ५० लाख ८२ हजार रुपैयाँ राजस्व उठेको थियो ।
यसरी तुलना गर्दा चालू वर्षको साउनमा मात्रै सरकारले करिब ५५ करोड रुपैयाँ कम राजस्व पाएको देखिन्छ ।
देशभरका १३५ मालपोत कार्यालयमार्फत भएको कारोबारमध्ये सबैभन्दा बढी झापामा ४ हजार ९०४, सुनसरीमा ४ हजार ६४, भक्तपुरमा ३ हजार १५, ललितपुरको लगनखेलमा २ हजार ९९१ र काठमाडौँका ६ मालपोत कार्यालयमार्फत ७ हजार ४८० कारोबार दर्ता भएका छन् ।
घरजग्गा कारोबारका प्रक्रियामध्ये लिखत पारित, नामसारी, संशोधन, हालसाबिक, रोक्का र फुकुवा बढी हुने गरेको विभागले जनाएको छ । त्यस्तै अपार्टमेन्ट दर्ता, जग्गा बाँडफाँट, दाखिल–खारेज, मोही हकसम्बन्धी प्रक्रिया र गुठी जग्गा व्यवस्थापनसम्बन्धी काम पनि हुने गरेका छन् ।
यस अवधिमा सङ्कलित राजस्वमध्ये सेवा कर २६ करोड २६ लाख, रजिस्ट्रेसन दस्तुर १ अर्ब ८० करोड १ लाख, पुँजीगत लाभकर १ अर्ब १९ करोड ११ लाख, मुख्यमन्त्री स्वच्छता अभियान कोष शुल्क ३ करोड ३३ लाख रहेको छ ।
अन्य शीर्षकमा अतिरिक्त शुल्क, डोर सुविधा, प्रमाणपत्र प्रिन्ट शुल्क, विलम्ब शुल्क, रोक्का दस्तुर लगायतबाट केही लाख रुपैयाँ सङ्कलन भएको विभागले जनाएको छ ।
यस्तै, यो अवधिमा झापा, मोरङ, सुनसरी, धनुषा लगायतका जिल्लामा बढी कित्ताकाट भएको विभागको विवरणमा उल्लेख छ ।
प्रतिक्रिया