वासिङ्टन डिसी : अमेरिकाले भारतबाट आयात हुने सामानमाथि कुल ५० प्रतिशतसम्म भन्सार कर लगाउने घोषणा गरेको छ । यो नियम बुधवार (अगस्ट २७) बिहान ९ः३१ बजेदेखि लागू हुनेछ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि रुसबाट तेल खरिद गरेको कारण भारतमाथि जरिवाना स्वरूप अतिरिक्त २५ प्रतिशत कर घोषणा गरेका थिए।
यसअघि नै व्यापार घाटाको कारण २५ प्रतिशत कर लगाइसकेकाले अब भारतीय सामानमा कुल ५० प्रतिशत भन्सार कर लाग्ने भएको हो।
मङ्गलवार सार्वजनिक गरिएको आदेशअनुसार सूचीबद्ध गरिएका सामानहरूमा मात्र यो ट्यारिफ लागू हुनेछ। गहना, कपडा, अटो र समुद्री खाना उद्योग यसबाट बढी प्रभावित हुने देखिएको छ।
विज्ञहरूका अनुसार अमेरिकासँग व्यापार सम्झौता नभए भारतको ४८ अर्ब २ करोड डलर बराबरको निर्यातमा प्रत्यक्ष असर पर्न सक्छ।
तर, यो शुल्कले आइटी, औषधि र इलेकट्रोनिक्स क्षेत्रलाई भने तत्काल असर गर्ने छैन। इलेकट्रोनिक्सलाई धारा २३२ अन्तर्गत छुट दिइएको छ भने फार्मा क्षेत्रमा हाल शून्य प्रतिशत ट्यारिफ कायम छ। सेवा क्षेत्रमा पर्ने आइटी उद्योग पनि यस भन्सार दायरामा पर्दैन।
एनबीसीको रिपोर्टअनुसार भारतबाट अमेरिकामा सबैभन्दा बढी निर्यात हुने गरगहना, कपडा, मेसिनरी र रसायन अब महँगो हुनेछन्। यसले अर्डर घटाउने, उत्पादनमा कमी ल्याउने र केही क्षेत्रमा रोजगारी सङ्कट निम्त्याउने सम्भावना रहेको विश्लेषणमा उल्लेख छ।
प्रतिक्रिया