विराटनगर । मोरङ जिल्लामा राज्यको नियन्त्रणमा रहेका आठ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अनुसार आठ महिनाको अवधिमा मोरङ कारागारभित्र सात र जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा एक गरी जम्मा आठ जनाले ज्यान गुमाएका छन् ।
मृतकमध्ये एक महिला र सात पुरुष रहेका छन् । पछिल्लो घटना भदौ ११ गतेको हो । सुनसरी बराहक्षेत्र नगरपालिका–६ की ३२ वर्षीया राधिका भट्टराई महिला कारागारको शौचालयमा पासो लगाएको अवस्थामा मृत फेला परिन् । यसअघि पुस २० गते मोरङ बेलबारी–४ का ६७ वर्षीय अम्बरबहादुर राईको मृत्यु भएको थियो । त्यसयता कारागारभित्रै मृत्युका घटना क्रमशः बढिरहेका छन् ।
इन्सेक कोशी प्रदेशका प्रलेख अधिकृत पुण्यप्रसाद अधिकारीका अनुसार राज्यको नियन्त्रण र सुरक्षा घेराभित्र रहेका व्यक्तिहरू निरन्तर मर्ने घटनाले मोरङ कारागार सुरक्षितभन्दा असुरक्षित स्थानमा रूपान्तरण भएको पुष्टि हुन्छ । उनले कारागार व्यवस्थापन, स्वास्थ्य सेवा र कैदीबन्दीको मनोवैज्ञानिक अवस्था बेवास्ता भएपछि यस्ता घटनाहरू बढिरहेको बताउँदै तत्काल सुधारको आवश्यकता रहेको टिप्पणी गरेका छन् ।
कारागारमा रहेका मोरङ पथरीशनिश्चरे–४ का ३८ वर्षीय जितबहादुर देवानको २०८१ फागुन २९ गते, उर्लाबारी–१ का ४३ वर्षीय मित्रकुमार दनुवार २०८२ वैशाख १५ गते, सुनवर्षी–२ का २४ वर्षीय उमेश दर्जी २०८२ असार १० गते र विराटनगर–५ का ४० वर्षीय सन्तोष पाल २०८२ असार २५ गते र रामेछाप दोरम्बाशैलुङ–२ का ५४ वर्षीय प्रविण तामाङको २०८२ वैशाख २९ गते मृत्यु भएको थियो । त्यस्तै, जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा रहेको झापा दमक–१ का २८ वर्षीय पुण्यबहादुर श्रेष्ठ २०८२ जेठ २० गते मृत्यु भएको थियो ।
यी घटनापछि इन्सेकसहित विभिन्न मानव अधिकारकर्मीहरूको टोलीले मोरङ कारागारको अवस्था अध्ययन गर्न अनुगमन गरेको छ । इन्सेक कोशी प्रदेश संयोजक मनोहरकुमार पोखरेल, अधिकारकर्मी शोभा बजगाईं र बालअधिकारकर्मी बासु अधिकारीसहितको टोलीले कारागारको अनुगमन गरेको हो । टोलीले जेलर गौरव ढुंगेलसँग कारागारको अवस्था, कैदीबन्दीको संख्या, स्वास्थ्य उपचारको उपलब्धता र सुरक्षाबारे जानकारी लिएको थियो ।
अनुगमनका क्रममा महिला कैदीले आत्महत्या गरेको घटनापछि बाँकी कैदीबन्दीमा त्रास फैलिएको पाइएको छ । कैदीलाई नयाँ भवनमा स्थानान्तरण गरिए पनि क्षमता भन्दा धेरैलाई राख्नुपर्ने बाध्यताले समस्या झन् चर्किएको जेलर ढुंगेलले बताएका छन् । उनले कारागारमा भौतिक संरचना अभाव, स्वास्थ्य सुविधा नपुगेको अवस्था र मनोसामाजिक सहयोगको कमीलाई मुख्य चुनौतीका रूपमा औंल्याएका छन् ।
मानव अधिकारकर्मीहरूले राज्यको नियन्त्रणमै व्यक्तिहरू निरन्तर मर्नु गम्भीर प्रश्नको विषय भएको भन्दै कारागार व्यवस्थापन सुधार, स्वास्थ्य सेवा र कैदीबन्दी सुरक्षामा तत्काल ध्यान दिन सरकारलाई आग्रह गरेका छन् । मोरङमा छोटो अवधिमा आठ जनाले ज्यान गुमाएको घटनाले कारागार प्रणालीप्रति अविश्वास बढाएको र यो विषयलाई सामान्य रूपमा लिन नमिल्ने अधिकारकर्मीहरूले बताएका छन् ।
प्रतिक्रिया