काठमाडौं : आसाम प्रदेश क्रिकेट सङ्घविरुद्धको टी–२० अभ्यास सिरिज नेपालले जितेको छ ।
भारतको गुवाहटीमा सोमबार भएको सिरिजको पाँचौँ तथा अन्तिम खेलमा नेपालले आसामलाई ४४ रनले हराउँदै सिरिज ३–२ ले जितेको हो ।
जितका लागि नेपालले दिएको दुई सय नौ रनको लक्ष्य पछ्याएको घरेलु टोली आसाम निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ६४ रनमा समेटिएको थियो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेटको क्षतिमा दुई सय आठ रन बनाएको थियो । नेपालका लागि सन्दीप जोराले सर्वाधिक ६४ रन बनाए । यस्तै शुभ कंसाकारले ४१ र इशान पाण्डेले ३२ रन बनाए । बलिङमा आसामका आयुष्मान मलाकार र अभिनव चौधरीले दुई दुई विकेट लिए ।
यसअघि सिरिजको पहिलो खेलमा नेपाल १५ रन र दोस्रो खेलमा ९६ रनले विजयी भएको थियो । यस्तै तेस्रो खेलमा नेपाल नौ रन र चौथो खेलमा १८ रनले पराजित भएको थियो ।
प्रतिक्रिया