जनकपुरधामको देवपुरा रुपैठामा समुदायबीचको तनाव अन्त्य गर्न सर्वपक्षीय सहमति

सोमबार, १६ भदौ २०८२

जनकपुरधाम : धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरा रुपैठामा दुई समुदायबीच भड्किएको विवादलाई सर्वपक्षीय सहमतिबाट अन्त्य गर्ने निर्णय गरिएको छ।

सोमबार बसेको बैठकमा राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, धार्मिक अगुवाहरू तथा सुरक्षा निकायको सहभागितामा सर्वपक्षीय सहमति जुटाइएको हो। सहमति अनुसार दुवै समुदायले सामाजिक सद्भाव कायम राख्न सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहका अनुसार, भदौ १४ र १५ गतेका घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानूनी कारबाही अघि बढाइने छ। साथै, धार्मिक वा सामाजिक सद्भावमा खलल पुर्‍याउने गतिविधि नगर्ने र त्यस्तो कार्य गर्न खोज्ने व्यक्तिमाथि निगरानी बढाइने सहमति भएको छ।

बैठकमा विगतमा तेलिया पोखरीमा देखिएको विवादलाई समेत व्यवस्थित गर्न सहमति जुटाइएको छ।

गत शनिबार गणेश पूजाको मूर्ति विसर्जन गरेर फर्कने क्रममा हिन्दु समुदायले झण्डाचोकमा रहेको टावरलाइट पोलमा बाँधिएको हरियो झण्डा हटाउन खोज्दा विवाद सुरु भएको थियो। त्यस क्रममा दुवै समुदायबीच झडप भएपछि प्रहरीले अवस्था नियन्त्रणमा लिन ११ सेल अश्रुग्यास प्रहार गरेको थियो।

आइतबार दुवै समुदायको झण्डा हटाउने क्रममा पुनः तनाव चर्किएको थियो। हिन्दु समुदायतर्फबाट ढुंगामुढा भएपछि प्रहरीले ३० राउन्ड गोली र ३१ सेल अश्रुग्यास प्रहार गरेको थियो। घटनामा स्थानीय २९ वर्षीय लक्ष्मण मुखिया दुवै खुट्टाको घुँडामा गोली लागेर घाइते भएका थिए भने सात जना प्रहरी ढुंगामुढामा घाइते भएका थिए।

 

यो पनि :- जनकपुर झडपमा एकजना घाइते, प्रहरी र हिन्दु समुदायबीच तनाव

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार