सेवा प्रवाह चुस्त पार्न मुख्यसचिव अर्यालको निर्देशन

सोमबार, १६ भदौ २०८२

खाँदबारी (संखुवासभा) ः नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले नागरिकलाई छिटो, सरल र प्रभावकारी सेवा प्रवाहका लागि कर्मचारीलाई निर्देशन दिएका छन् ।

आज खाँदबारी संखुवासभामा सम्पन्न ‘नागरिक सन्तुष्टि र सुशासन प्रवद्र्धनमा सार्वजनिक निकायको भूमिका” विषयक अन्तरक्रियामा उनले सरकारी कार्यालयमा ढिलासुस्तीको प्रवृत्ति तत्काल अन्त्य गर्नुपर्नेमा जोड दिए । जनताले गुनासो नगर्ने गरी सर्वसुलभ सेवा दिनुपर्ने भन्दै मुख्यसचिव अर्यालले टेबलमा पुगेको कामलाई अलमल्याउने बानी त्याग्न आग्रह गरे ।

सेवा प्रवाहलाई व्यवस्थित बनाउन कानुन तथा संरचनागत सुधार भइरहेको उल्लेख गर्दै उनले समान प्रकृतिका कार्यालयलाई एकीकृत गर्ने तयारी पनि अगाडि बढाइएको जानकारी दिए । मुख्यसचिव अर्यालले उत्तरी नाका किमाथाङ्कालाई चलायमान बनाउनसके संखुवासभालाई समृद्ध र पर्यटकीय सम्भावना बोकेको जिल्लाका रूपमा पहिचान दिन सकिने बताए ।

प्रधानमन्त्री कार्यालयका सचिव गोविन्दबहादुर कार्कीले किमाथाङ्का नाका चीन र नेपाललाई जोड्ने महत्त्वपूर्ण प्रवेशद्वार भएको बताउँदै यसको स्तरोन्नतिमा जोड दिए । जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले नागरिकले सुशासनको अनुभूत गर्ने गरी कर्मचारीले सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउनुपर्ने सुझाव दिए ।

प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले कानुन र कार्यविधि स्पष्ट हुनुपर्नेमा जोड दिँदै संखुवासभालाई उत्पादनमुखी क्षेत्रका रूपमा विकास गर्न सीमा नाका सञ्चालन अपरिहार्य रहेको बताए ।

जिल्लाको वस्तुस्थिति प्रस्तुत गर्दै भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख हिमालय पोख्रेलले जिल्लामा हाल ३९ वटा जलविद्युत आयोजना सञ्चालनमा रहेको जानकारी दिए ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार