विराटनगर : विराटनगरका चर्चित हार्डवेयर तथा मार्बल व्यवसायी सौरभकुमार बियानीलाई नक्कली भ्याट बिलमार्फत कारोबार गरेको अभियोगमा १ अर्ब ४० करोड रुपैयाँ बिगो जरिवाना र ६ महिना कैद सजाय तोकिएको छ।
आन्तरिक राजस्व कार्यालय विराटनगरले भन्सार विभागको समन्वयमा साउन २८ गते सुनाएको अन्तिम फैसलाअनुसार बियानीले कर छलीका लागि काल्पनिक बिजक प्रयोग गरी ठूलो मात्रामा कारोबार गरेको प्रमाणित भएको हो।
गत असार १६ गते पक्राउ परेका बियानीमाथि प्रारम्भिक छानबिनमै १ अर्ब ३१ करोड रुपैयाँ बिगो तोकिएको थियो। तर विस्तृत अनुसन्धानपछि थप ९ करोड रुपैयाँ बिगो देखिँदै कुल बिगो १ अर्ब ४० करोड पुगेको राजस्व विभागले जनाएको छ। बिगो रकम तत्काल बुझाउन नसकेपछि उनलाई कारागार चलान गरिएको हो।
बियानी विराटनगर–१० का स्थायी वासिन्दा भए पनि हाल हाटखोला (वडा नं. ७) मा बस्दै आएका थिए। उनी सञ्चालक रहेका ‘न्यू सौरभ ट्रेडिङ’ र ‘बियानी एन्ड ब्रदर्स हार्डवेयर एन्ड मार्बल’मार्फत नक्कली भ्याट बिल प्रयोग गरेर कारोबार गरेको प्रमाण भेटिएको आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दाहालले जानकारी दिए। उनका अनुसार यो प्रकरणसँग सम्बन्धित अन्य फर्महरूको अनुसन्धान अझै जारी छ।
बियानी पक्राउ पर्दा कार्यालयका प्रमुख भुपालराज शाक्य थिए भने हाल केशवकुमार उप्रेतीले कार्यभार सम्हालेका छन्। विभागले बाँकी अनुसन्धानलाई तीव्रता दिने तयारी गरेको छ।
राजस्व कार्यालयको निर्णयसँग असन्तुष्ट भए अपिल गर्न सकिने कानुनी व्यवस्था छ। तर त्यसका लागि बिगो रकमको २५ प्रतिशत धरौटी बुझाउनुपर्ने हुन्छ। विभागकै निर्णय चित्त नबुझ्दा ‘राजस्व न्यायाधीकरण’मा मुद्दा लैजान सकिन्छ, जहाँ अन्ततः सर्वोच्च अदालतसम्म अपिल गर्न सकिने प्रावधान छ।
नक्कली भ्याट बिल भन्नाले वास्तविक कारोबार नगरी पनि काल्पनिक रूपमा खरिद–बिक्री देखाउने कार्यलाई जनाइन्छ। यस्ता बिल सक्कलीजस्तै देखिने भएकाले सजिलै पत्ता लाग्दैन। तर, कर कार्यालयले अनुसूची–१३ अन्तर्गत व्यवसायीले बुझाएको खरिद–बिक्री विवरण मिलाउँदा देखिने ‘मिसम्याच’ बाट अनियमितता खुल्ने गर्छ। यही प्रक्रियाबाट विराटनगरका बियानीको नक्कली भ्याट बिल प्रकरण बाहिर आएको हो।
प्रतिक्रिया