ललितपुर । कोशी प्रदेशका आर्थिक मामिला मन्त्री राम राना मगर सवार गाडीले ललितपुरको हरिसिद्धिमा १४ वर्षीया बालिकालाई ठक्कर दिँदा सडक अवरुद्ध भएको छ।
मन्त्री मगर नेकपा एमालेको विधान सम्मेलनमा सहभागी भएर गोदावरी सम्मेलन हलबाट फर्कने क्रममा ललितपुर महानगरपालिका–२८ हरिसिद्धिमा ठक्कर दिएको हो। को १ झ ६९९ नम्बरको गाडीले ठक्कर दिएपछि चालकले गाडी रोकेर घाइतेलाई अस्पताल पुर्याउनुको सट्टा भागेको स्थानीयले आरोप लगाएका छन्।
दुर्घटनापछि आक्रोशित स्थानीयले सडक अवरुद्ध गर्दै विरोध जनाएका थिए। ठक्करबाट घाइते भएकी १४ वर्षीया उषा सुनुवारलाई उपचारका लागि बि एण्ड बि अस्पताल पुर्याइएको छ।
घाइते बालिकाको उपचार भइरहेको र अवस्था सामान्य रहेको ललितपुर प्रहरीले जनाएको छ ।
ट्राफिक प्रहरी कार्यालय सातदोबाटोले मन्त्रीको गाडी र चालकलाई नियन्त्रणमा लिइएको जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
यता प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले हरिसिद्धिमा कोशी प्रदेशका मन्त्री सवार गाडीको ठक्करबाट घाइते भएकी बालिकाको उपचार खर्च पार्टीले बेहोर्ने बताएका छन् ।
सवारी दुर्घटनाकै कारण विधान महाधिवेशनको दोस्रो दिनको कार्यक्रम एक घण्टा ढिलो सुरु भएको छ । सोही क्रममा प्रधानमन्त्री ओलीले बालिकाको सम्पूर्ण उपचार खर्च पार्टीले बेहोर्ने गरी उपचारका लागि अस्पताल पठाएको जानकारी दिए ।
उनले बालिकाको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरे । दुर्घटना भवितव्य भएकाले महाधिवेशन भाँड्ने गरी राजनीति गर्न खोज्न नहुने उनको भनाइ छ ।
“सामान्यरूपमा एक बच्चीलाई गाडीले छोयो । अस्पताल लगिसकियो । त्यस्तो कुनै नियत थिएन । पार्टीले बच्चीको सम्पूर्ण उपचार खर्च बेहोर्छ । घटनाप्रति दुःख व्यक्त गर्दछु । कहिलेकाहीँ यस्ता अप्रिय घटना हुन्छन् । तर, भइदियो,” उनले भने ।
प्रतिक्रिया