विराटनगर । पूर्वराष्ट्रपति र उपराष्ट्रपतिहरू सक्रिय राजनीतिमा फर्किन पाउने वा नपाउने भन्ने बहस चर्किएको बेला नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानले यसमा कुनै प्रतिबन्ध नलगाएको प्रष्ट पारेका छन् ।
शनिबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै देउवाले विद्यादेवी भण्डारी र नन्दबहादुर पुनको राजनीतिक सक्रियतालाई अस्वाभाविक नठान्न आग्रह गरे । उनले भने, ‘संविधानमा कतै रोकिएको छैन, पाइन्न भनेको पनि छैन । त्यसैले उनीहरूको सक्रियता वैधानिक अधिकारकै प्रयोग हो ।’
तर, दलभित्रको व्यवहार भने फरक देखिएको छ । नेकपा (एमाले)ले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी सदस्यता नवीकरण गर्ने निर्णय रोकेको छ । भण्डारीले एमालेको कार्यक्रममा सक्रियता देखाइरहे पनि पार्टीले उनको भूमिका सीमित राख्ने संकेत दिएको छ । त्यस्तै, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन भने खुलेरै माओवादी केन्द्रको गतिविधिमा जोडिएका छन् ।
यसै प्रसंगमा संविधान संशोधनसम्बन्धी प्रश्नमा देउवाले भने, ‘दुईतिहाइ बहुमत बिना संशोधन सम्भव छैन । त्यसका लागि दलहरुसँग छलफल भइरहेको छ । तर, तत्काल कुनै निष्कर्ष निक्लिएको छैन ।’ प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा कांग्रेस सहभागी हुने वा मन्त्री फिर्ता बोलाउनेबारे उठेका प्रश्नमा देउवा भन्छन्, ‘मन्त्री फिर्ता बोल्ने कुरा भएको छैन । कांग्रेसमा यसबारे कुनै छलफल भएको छैन ।’
पूर्वराष्ट्रपति र उपराष्ट्रपतिहरूको भूमिकाबारे संवैधानिक प्रावधान स्पष्ट नभएकै कारण अहिलेको बहस चर्किएको हो । संविधानले उनीहरूलाई राजनीतिक दलमा आबद्ध हुन नदिने प्रावधान नराखेकाले कानुनी रूपमा बाटो खुला छ । तर, दलहरूले उनीहरूलाई कस्तो भूमिकामा स्वीकार्छन् भन्ने कुरा भने व्यवहारगत राजनीति र शक्ति समीकरणमा भर पर्न जाने विश्लेषकहरु बताउँछन् ।
प्रतिक्रिया