काठमाडौँ । कोरिया एजुकेशन कन्सल्टेन्सी एसोसिएसन नेपालले काठमाडौँ बानेश्वरको एभरेष्ट होटलमा ‘कोरिया शिक्षा मेला–२०२५’ को आयोजना गरेको छ । शनिबार एक दिन आयोजना गरिएको मेलामा १५ सय बढी विद्यार्थीले अवलोकन गरेको आयोजकको दाबी छ ।
कोरिया शैक्षिक परामर्श संघका अध्यक्ष विष्णु खड्काले पछिल्लो समय कोरियामा अध्ययन गर्न जाने विद्यार्थीको माग बढेको बताउँदै विद्यार्थीहरुलाई उचित सूचना दिने उद्देश्यले मेला आयोजना गरेको जानकारी दिए ।
नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले मेलामार्फत कोरियाको शैक्षिक अवस्थाबारे विद्यार्थीमा देखिएको भ्रम चिर्ने जर्मको गरेको बताउँदै उनले आगामी दिनमा वर्षमा दुई पटक यस्ता मेलाहरु आयोजना गर्नेगरी योजना अगाडि बढाएको सुनाए ।
उनले भने,‘पछिल्लो समय कोरियामा अध्ययन गर्न जाने विद्यार्थीको माग छ । अहिले पनि ६ हजार देखि १२ हजारको हाराहारीमा माग छ । त्यसैले यसलाई व्यवस्थित तरिकाले कसरी हामीले गर्ने भनेर मेला आयोजना गरेका छौं । उचित सूचना दिने हिसाबले पनि मेला आयोजना गरेका हौं । यो हाम्रो पहिलो मेला हो । आगामी दिनमा वर्षमा दुईवटा यस्ता मेलाहरु आयोजना गर्नेगरी योजना गरेका छौं । विद्यार्थीमा जुन किसिमको भ्रम छ । त्यसलाई चिर्ने प्रयास गरेका छौं ।’
त्यस्तै अध्यक्ष खड्काले एआई, कम्प्युटरका अन्य विषयहरु, हस्पिटालिटी, आर्टस र स्वास्थ्य क्षेत्रका विषयहरु लिएर कोरिया पढ्न जाने विद्यार्थीको रोजाइमा पर्ने गरेको बताए ।
सस्तो तर इन्टरनेशनल स्तरको शिक्षा लिने अवसर कोरियामा पाइने बताउँदै उनले बढिमा १० लाख तिरेर कोरिया जान सकिने जानकारी दिए ।
‘अहिले एआई र कम्प्युटरका अन्य विषयहरुमा मास्टर्स गर्नको लागि हस्पिटालिटी, आर्टसहरु, स्वास्थ्य क्षेत्रका विषयहरु लिएर पढ्न जाने धेरै छन् । दुई हजार डलरमा ट्युसन फि तिरेर कोरिया जान पाइन्छ । सस्तो तर इन्टरनेशनल स्तरको शिक्षा लिन कोरियामा पाइन्छ । कोरिया जान बढिमा १० लाख तिर्ने हो । त्यो बढि तिरेको देखिन्न,’उनले भने ।
मेलामा २३ वटा कोरियन विश्वविद्यालयका स्टलहरू रहेका छन् । उनले भने,‘आजको यो मेलामा २३ वटा कोरियन विश्वविद्यालयका स्टलहरू रहेका छन् । १५ सय विद्यार्थीले आज अवलोकन गर्नुहुन्छ भन्ने अुनमान छ । उल्लेखनीय रुपमा उपस्थिति रहेकाले व्यवसायीहरु पनि उत्साहित छन् ।’
मेलामा भाषिका कन्सल्टेन्सीले नेपालमा पहिलो पटक एआइको प्रविधिबाट विद्यार्थीहरुलाई परामर्श सेवा दिएको छ । मेलाले प्रविधि, फेसन तथा भविष्यका रोजगारी अवसरसँग सम्बन्धित उत्कृष्ट शैक्षिक कार्यक्रमहरू प्रस्तुत गर्ने लक्ष्य लिएको छ । विद्यार्थी तथा अभिभावकहरूलाई मेलामा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको थियो ।
प्रतिक्रिया