सुन्दरहरैंचामा कोशी प्रदेशकै ठूलो 'बिराटचोक स्केट जोन' सञ्चालनमा

आइतबार, २२ भदौ २०८२

सुन्दरहरैंचा । बालबालिका र युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्ने उद्देश्यले सुन्दरहरैंचा नगरपालिका–१० मा कोशी प्रदेशकै सबैभन्दा ठूलो ‘बिराटचोक स्केट जोन’ शनिबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। युवाहरूको संयुक्त लगानीमा निर्माण गरिएको यस इनडोर स्केट जोनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार आधुनिक सुविधा सहित तयार पारिएको सञ्चालकहरूले बताएका छन्।

वडा–१० का अध्यक्ष राजकुमार राईले रिबन काटी स्केट जोनको उद्घाटन गरे। उद्घाटन कार्यक्रममा बोल्दै उनले स्केटिङ जस्तो नयाँ खेलको विकासले बालबालिका र युवाहरूलाई सकारात्मक क्रियाकलापमा संलग्न गराउने, मानसिक तथा शारीरिक विकासमा सहयोग पुर्‍याउने र नगरको पर्यटन प्रवर्द्धनमा टेवा दिने विश्वास व्यक्त गरे। त्यसैगरी वडा–९ का अध्यक्ष प्रकाश श्रेष्ठले स्केट जोन सञ्चालनमा आएपछि व्यवस्थापन, खेलाडीको सुरक्षा र अनुशासनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए।

सञ्चालक मेख रानाका अनुसार, यो इनडोर स्केट जोन प्रदेशकै ठूलो मात्र नभई सुरक्षा व्यवस्थाका हिसाबले पनि अत्याधुनिक छ। खेलाडीहरूलाई हेल्मेट, स्केटिङ जुत्ता, सेफ्टी गार्ड जस्ता सम्पूर्ण उपकरण उपलब्ध गराइनेछ। प्रवेश टिकट बिना खेल्न पाइने छैन भने सम्पूर्ण गतिविधि सिसिटिभीको निगरानीमा रहनेछ। पहिलो एक घण्टाका लागि रु. २०० टिकट तोकिएको छ भने थप एक घण्टा खेल्दा रु. १०० अतिरिक्त लाग्ने व्यवस्था गरिएको छ।

१२ वर्षभन्दा कम उमेरका बालबालिका वा १.५ मिटरभन्दा कम उचाइ भएका खेलाडीले अभिभावकसहित मात्र खेल्न पाउनेछन्। पूर्ण सुरक्षा सामग्री प्रयोग नगरी खेल्न अनुमति नदिइने सञ्चालकले स्पष्ट पारेका छन्। स्केटिङ खेललाई स्वास्थ्य र सुरक्षासँग जोडेर सावधानीपूर्वक सञ्चालन गरिने उनले बताए।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, संघ–संस्थाका प्रतिनिधि, अभिभावक र सर्वसाधारणको उपस्थितिमा सम्पन्न भएको थियो। संचालक रानाले स्केटिङलाई लोकप्रिय खेलका रूपमा स्थापित गर्दै सुन्दरहरैंचालाई प्रदेशस्तरीय खेलकुद केन्द्र बनाउन लक्ष्य राखिएको बताए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार