इनरुवा : सशस्त्र प्रहरीको गोली प्रहारबाट कोशी गाउँपालिका–१ लौकहीका विजय साहको मृत्यु भएपछि बिहीबार दिनभर तनावग्रस्त बनेको लौकही साम्य भएको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको सर्वपक्षीय बैठकमा सहमति भएपछि लौकहीको अवस्था सामान्य भएको प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए ।
घटनाको निष्पक्ष छानबिन गरी दोषीउपर कारबाही गर्ने, मृतकको परिवारबाट सशस्त्र प्रहरीमा जागिरका लागि इच्छा राखेमा सहयोग गर्ने, काजकिरिया खर्चबापत पीडित परिवारलाई रु एक लाख सशस्त्र प्रहरीले दिने, लौकहीमा अर्को सशस्त्र प्रहरीको टोलीलाई पठाई पुरानोलाई फिर्ता ल्याउने सहमति भएको कोशी गाउँपालिका–१ का राजकुमार साहले जानकारी दिए ।
सर्वपक्षीय सहमति पश्चात् प्रशासनमा वार्तामा बसेको मृतक पक्षका आफन्त र स्थानीयले आन्दोलनरत पक्षलाई आन्दोलन र प्रदर्शन फिर्ता लिन आग्रह गरे ।
शव परिवारजनले जिम्मा लिएर परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान लगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिए ।
साहको मृत्युपछि आक्रोशित स्थानीयले लौकही बजारमा राखेर प्रदर्शन गर्नुका साथै लौकही बजारमा रहेका सशस्त्र प्रहरी पोष्टमा तोडफोड गर्नुका साथै आगजनी गरेका थिए ।
यो घटनामा तस्करी भइरहेको र तस्करी बापत भागबण्डा नपाएपछि सशस्त्रले गोली हानेर मारेको आरोप छ ।
सशस्त्रमाथि पहिलेदेखि नै सुरक्षामा भन्दा भागबण्डामा काम गरिरहेको आरोप छ । यो घटनाले सशस्त्रभित्र गम्भीर सुशासनको अभाव खड्किएको अनुभूति सशस्त्रले गरेको छ ।
एक वरिष्ठ अधिकृतले गोली हान्ने जस्तो कार्य गर्न नहुने बताउँछन् । यसले विकृति ल्याउने भन्दै उनले एपीएफभित्र अब गम्भीर छानबिन नगरे जनताबाट तिरस्कृत भइनेसमेत बताए ।
पीडितले राखेका माग पूरा गर्न पनि सशस्त्रले हैसियत राख्छ वा राख्दैन भन्ने प्रश्न अहम् छ । काममा खटिएका बेलामा घटना भएको भए सशस्त्रले किरिया खर्च किन दिनु पर्यो ?
यसले पनि यहाँ सुरक्षाको पोशाकमा कतै अपराध त भएको हैन भन्ने शंका बढाउँछ ।
प्रतिक्रिया