ललितपुर : नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशनले प्रस्तुत सबै प्रतिवेदनहरू सर्वसम्मत पारित गरेको छ।
ललितपुरको गोदावरीस्थित सनराइज हलमा तीन दिनसम्म चलेको महाधिवेशनको अन्तिम दिन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्ताव, महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदन र केन्द्रीय सल्लाहकार परिषद् अध्यक्ष अमृतकुमार बोहराको प्रतिवेदन सर्वसम्मत पारित गरिएको हो।
त्यसैगरी, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेल र केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाद्वारा प्रस्तुत प्रतिवेदनहरू पनि सर्वसम्मतिले अनुमोदन गरिएको छ।
महाधिवेशनमा देशभरिका दुई हजार २६ जना प्रतिनिधि सहभागी भए भने आयोजकसहित कूल दुई हजार ३४१ जना उपस्थित थिए। प्रतिनिधिहरूलाई १० समूहमा विभाजन गरी समूहगत छलफल गरिएको थियो, जसका सुझाव अन्तिम दिन टोली नेताहरूले प्रस्तुत गरेका थिए।
‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली हाम्रो गन्तव्य’ भन्ने मूल नारासहित सम्पन्न विधान महाधिवेशनलाई एमालेले पार्टीलाई थप सुदृढ र व्यवस्थित बनाउने मोडको रूपमा लिएको छ।
प्रतिक्रिया