विराटनगर । विराटनगरमा जेनजी पुस्ताले गरेको प्रदर्शनका क्रममा नेपाल प्रहरीका इन्स्पेक्टर (प्रहरी निरीक्षक) घाइते भएका छन् ।
वडा प्रहरी कार्यालय विराटनगरमा कार्यरत इन्स्पेक्टर अप्रिल चापागाईं घाइते भएका हुन् । प्रदर्शनकारीले हानेको ढुंगाले उनको अनुहारमा लागेको थियो । अनुहारमा चोट लागेर सामान्य घाइते भएका उनलाई उपचारका लागि न्युरो अस्पताल लगिएको छ ।
विराटनगरको रोडशेष चोक भएर प्रदर्शनकारी कोशी प्रदेशको मुख्यमन्त्री कार्यालयतर्फ अघि बढ्न खोजेका थिए । प्रदर्शनकारी निषेधित क्षेत्रतर्फ अघि बढ्न थालेपछि प्रहरीले ब्यारिगेट लगाएर रोकेको थियो ।
प्रहरीले अघि बढ्न नदिएपछि आक्रोसित बनेका प्रदर्शनकारीहरुले ढुंगामुढा गरेका छन् । प्रदर्शनकारीले प्रहार गरेको ढुंगाले लागेर इन्स्पेक्टर घाइते भएका हुन् । त्यसलगत्तै प्रहरीले सामान्य बल प्रयोग गरेर प्रदर्शनकारीलाई तितरबितर बनाएको छ ।
निषेधित क्षेत्रमा प्रवेश गरेर प्रदर्शन गर्ने योजना असफल भएपछि अहिले प्रदर्शनकारीहरु महेन्द्र चोक केन्द्रित भएका छन् । उनीहरुले महेन्द्र चोकमा पनि प्रदर्शन गरिरहेका छन् । जेनजी पुस्ताले विराटनगरमा बिहानैदेखि प्रदर्शन गरिरहेका छन् ।
केही बेरअघि विराटनगरस्थित कोशी प्रदेशसभा सचिवालय अगाडि प्रदर्शन गरेका थिए । प्रदेशसभा सचिवालय परिसर निषेधित क्षेत्र हो । प्रहरीले प्रदेशसभाको प्रवेशद्धार भन्दा केही पर ब्यारिगेट लगाएको थियो । तर, ब्यारिगेट तोडेर प्रदर्शनकारी प्रदेशसभा सचिवालय अगाडि पुगेर प्रदर्शन गरेका थिए ।
अन्य स्थानको भन्दा विराटनगरको प्रदर्शन हालसम्म शान्तिपूर्ण नै छ । प्रदेशसभाको सुरक्षाका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । विराटनगरको सन्सारी माईस्थानबाट जेनजीले प्रदर्शन सुरु गरेका थिए ।
त्यहाँबाट ट्राफिक चोक, महेन्द्र चोक, रोडशेष चोक, मेन रोड, डाँफे चोकलगायतका स्थानमा प्रदर्शन गरिएको थियो । विराटनगर बजारभित्र प्रदर्शन गर्ने क्रममा प्रदर्शनकारीले प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विभिन्न राजनीतिक दलका नेताविरुद्ध चर्का नारा लगाएका थिए । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह (बालेन्द्र)को भने पक्षमा नारा लगाइएको थियो ।
प्रतिक्रिया