विराटनगर : हालै भदौ २३ र २४ गते Gen-Z युवाहरूद्वारा गरिएको आन्दोलनमा जीवन गुमाएका सबैप्रति गहिरो श्रद्धाञ्जली व्यक्त गर्दै नेपाली कांग्रेस कोशी प्रदेश समितिले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। विज्ञप्तिमा पीडित परिवारप्रति संवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
प्रदेश समितिका अनुसार विभिन्न तहका सरकारी निकाय, पार्टीका कार्यालय र प्रतिनिधिहरूमाथि आक्रमण, तोडफोड तथा आगजनी जस्ता गतिविधिहरू योजनाबद्ध ढंगले भएको देखिएको छ। समितिले यस्ता घटनाले मुलुककै शान्ति–सुरक्षामा प्रत्यक्ष आघात पुर्याएको भन्दै सरकारलाई घटनामा संलग्न व्यक्तिहरूलाई छानबिन गरी कानुनी कारबाही गर्न माग गरेको छ।
विज्ञप्तिमा शान्ति, सुशासन र स्थिरतामाथि आघात पुग्ने गरी गरिएका गतिविधि नेपालकै लोकतान्त्रिक भविष्यका लागि चुनौती भएको उल्लेख गर्दै सबै दल, सरोकारवाला निकाय तथा नागरिकलाई संयमता अपनाउन अपिल गरिएको छ।
कोशी प्रदेश कांग्रेसले अहिलेको संवैधानिक प्रणालीलाई नै नेपालको स्थायित्व र समृद्धिको आधार मानेको छ। त्यसैले वर्तमान संविधान भित्र रहेरै समस्याहरू समाधान खोज्नुपर्नेमा जोड दिँदै विज्ञप्तिमा भनिएको छ, “यो संकटको घडीमा संविधानको रक्षाकै पक्षमा अडिग रहनुपर्छ।”
प्रदेश समितिले लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउन सबैलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरेको छ।
प्रतिक्रिया