सर्वसाधारण भन्छन् : निषेधाज्ञा खोल्नुपर्छ, गरिखान पाउनुपर्छ

विहीबार, २६ भदौ २०८२

काठमाडौँ । नेपाली सेनाले निषेधाज्ञालाई केही खुकुलो गरेसँगै बिहानको समयमा मानिसहरूको चहलपहल देख्न थालिएको छ ।

जङ्गी अड्डा, जनसम्पर्क तथा सूचना निर्देशनालयले बिहीबारबाट आवश्यकताअनुसार आवतजावतमा छुट दिन थालेसँगै अत्यावश्यक सेवाका सवारी तथा संस्थाहरू सञ्चालन भएका छन् । 

जनजीवन सहज बनाउन दैनिक उपभोग्य वस्तु व्यवस्थापनका लागि २६ गतेको बिहान ६ बजेदेखि ९ बजेसम्म तथा साँझ ५ बजेदेखि ७ बजेसम्म खुल्ला रहने भएता पनि स–सानो समूहमा कार्य गर्न सेनाले आग्रह गरेको छ ।

सेनाले सहज वातावरण बनाउन थालेपछि आफ्नो पसल पनि सञ्चालन गरेको व्यवसायी मङ्गललाल श्रेष्ठले बताए । उनी काठमाडौँ हनुमानस्थान नजिकै खुद्रा पसल चलाउँदै आएका छन् ।

आन्दोलनका कारण निषेधाज्ञा र कर्फ्यु लागेसँगै व्यवसायमा ठूलो प्रभाव पारेको उनले बताए ।

‘व्यापार नै हुँदैन, मान्छे हिँडेको छैन । मैले ती दिन बन्द गरे । अहिले पनि बन्द गर्ने बेला भयो,’उनले भने ।

उनी आन्दोलनका क्रममा क्षति पुगेका संरचना पुनः निर्माणमा धेरै वर्ष लाग्ने भन्दै त्यसको जिम्मा पनि राजनीतिक दलका नेताले लिनुपर्ने बताए ।

‘नेताले भ्रष्टाचार गरेको सबै निकालेर अब नष्ट भएको बनाउन लगाउनुपर्छ । नत्र बनाउन २०औँ वर्ष लाग्छ । कहाँबाट ल्याएर बनाउने हो ? बनाउनलाई गरिवकै पैसा जाने हो । त्यो नेतालाई एक एक गरेर घुस खाएको, जग्गा कब्जा गरेको सबै लिएर सबै बनाउनुपर्छ । उनीहरुले जनतालाई धेरै दुःख दिएका छन् । छिट्टै निषेधाज्ञा खोल्नुपर्छ,’उनले भने । 

यस्तै, जेनजी पुस्ताका प्रसिद्द प्रजापति आन्दोलनले अव कस्तो प्रभाव पार्छ भन्दै चिन्तित रहेको बताए ।

‘अहिलेसम्म के प्रभाव पार्यो भन्नुभन्दा पनि अव के प्रभाव पार्छ भन्ने हो । त्यो तोडफोड जेनजीले गरेको भन्ने म मान्दिन,’उनले भने ।

आन्दोलनमा घुसपेठ भएको र त्यसले नकरात्मक रुप लिएको उनको भनाई छ ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार