मन्त्रीमा रामेश्वर खनाल र कुलमानको नाम टुङ्गियो, गृहमा हर्कको दाबी

आइतबार, २९ भदौ २०८२

काठमाडौँ : नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तारको कामलाई तीव्रता दिएकी छन्।

पहिलो चरणमै उनले अर्थ मन्त्रालयमा पूर्वमुख्यसचिव रामेश्वर खनाललाई र ऊर्जा मन्त्रालयमा प्राधिकरण पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई नियुक्त गर्ने निर्णय पक्का गरेकी छिन्।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको अन्तिम छलफलपछि कार्कीले दुवैलाई जिम्मेवारी दिने सहमति जनाएकी हुन्।

यसअघि उनले वरिष्ठ अधिवक्ता सविता भण्डारीलाई महान्यायाधीवक्तामा नियुक्त गरेर सरकार विस्तारको पहिलो कदम चालेकी थिइन्।

अधिवक्ता ओमप्रकाश अर्याललाई पनि मन्त्री बन्न प्रस्ताव गरिएको भए पनि उनले बाहिरबाट नै सरकारलाई सहयोग गर्ने सङ्केत गरेका छन्।

यसैबिच, धरानका मेयर हर्क साम्पाङ आइतबार बिहानै बालुवाटार पुगेका थिए।

गृह मन्त्रालयको जिम्मेवारी लिन प्रधानमन्त्रीसँग भेट गर्न खोजे पनि सुरक्षाकर्मीले लामो समय रोक्दा अन्ततः उनको प्रत्यक्ष भेट सम्भव भएन।

केही दिनअघि आफूलाई नै प्रधानमन्त्री बनाउनुपर्ने दाबी गर्दै जङ्गी अड्डासमेत पुगेका साम्पाङ अहिले पनि युवामाझको समर्थनलाई आफ्नो प्रमुख आधार ठानिरहेका छन्।

शनिवार साँझ नेपाल प्रहरीका पूर्व आइजिपी सर्वेन्द्र खनाल पनि प्रधानमन्त्री निवास पुगेका थिए। जेनजी आन्दोलनको दबाबबिच निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि कार्की अन्तरिम सरकारको नेतृत्वमा पुगेकी हुन्।

 

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार