पुटिनको निवासमाथि ड्रोन आक्रमण बनावटी दाबी मात्र : युक्रेन

मंगलबार, १५ पुस २०८२
सांकेतिक फाईल

किएभ : युक्रेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कुनै निवासमाथि ड्रोन आक्रमण गरेको भन्ने मस्कोको दाबीलाई अस्वीकार गरेको छ । युक्रेनी पक्षले उक्त घटनाबारे कुनै ठोस प्रमाण फेला नपरेको जनाएको छ ।

युक्रेनका विदेशमन्त्री आन्द्रिय सिबिगाले रूसले अहिलेसम्म विश्वसनीय प्रमाण पेश गर्न नसकेको बताए । “यस्ता कुनै घटना भएका छैनन्, त्यसैले प्रमाण पनि छैन,” उनले भने ।

यसअघि मस्कोले सोमबार युक्रेनले पुटिनको लुकेका निवासस्थानमा ड्रोन आक्रमण गरेको दाबी गरेको थियो । क्रेमलिनले यसलाई ‘आतङ्कवादी कार्य’ र पुटिनमाथिको ‘व्यक्तिगत आक्रमण’ भनेको थियो । तर अहिलेसम्म दाबी पुष्टि हुने प्रमाण सार्वजनिक गरिएको छैन ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेंस्कीले अघिल्लो दिन रूस किएभमाथि सम्भावित आक्रमणको तयारीमा रहेको दाबी गर्दै राजधानीवासीलाई सतर्क रहन आग्रह गरे ।

मस्कोको दाबीपछि युरोपेली नेताहरूले जेलेंस्कीप्रति समर्थन जनाएका छन् । जर्मनीका चान्सलर फ्रेडरिक मर्जले शान्ति प्रक्रियाका लागि पारदर्शिता र ईमान्दारी आवश्यक रहेको बताए ।

यसैबीच, युक्रेन र अमेरिकाबीच शान्ति वार्ता जारी रहेको छ । युक्रेनले अमेरिकी प्रस्तावित शान्ति योजनाको ९० प्रतिशत स्वीकार गरेको जनाएको छ । तर रूसले आफ्ना अधिकतम माग पूरा नभएसम्म सम्झौतामा हस्ताक्षर नगर्ने अडान लिएको छ ।

यसै सन्दर्भमा युक्रेनले उत्तर चर्निहिभ क्षेत्रमा रूसी तोपबारी तीव्र भएपछि केही गाउँ खाली गर्न आदेश दिएको जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार