काठमाडौँ : जेनजी अर्थात् १४–२८ वर्ष उमेर समूहका युवाहरूको पछिल्लो आन्दोलनलाई साथ दिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का थुप्रै नेता–कार्यकर्ता सक्रिय भए पनि सो आन्दोलन अन्ततः रास्वपाकै लागि प्रत्युत्पादक बनेको छ।
मुलुकमा व्याप्त भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध सडकमा उत्रिएका युवाको आवेगका कारण २७ घण्टामै सत्ता उल्टिएपछि यसको सबैभन्दा ठूलो लाभ रास्वपाले लिने विश्लेषण गरिएको थियो। तर, आन्दोलनले उल्टै नकारात्मक छाप छाडेको देखिएको छ।
भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनले सत्ता परिवर्तनसँगै ठूला दलहरूको भविष्यमा खतराको घण्टी बजाएको थियो।
आन्दोलनको पहिलो दिन शान्तिपूर्ण प्रदर्शन बानेश्वर क्षेत्रमा हिंसात्मक बन्दै रणभूमिमा परिणत हुँदा प्रहरीले गोली चलाउँदा १७ जनाको ज्यान गयो। घाइतेहरूमध्ये उपचारका क्रममा मृत्यु हुने क्रम जारी रहँदा हालसम्म ७२ जनाको मृत्यु भइसकेको छ।
अराजक गतिविधिलाई प्रश्रय दिएका रास्वपा, माओवादी केन्द्र र राप्रपामध्ये रास्वपाको बढी आलोचना भइरहेको छ। काठमाडौँ महानगरका मेयर बालेन शाह आन्दोलनको नेतृत्वमा नउत्रिएपछि रास्वपा सभापति रवि लामिछानेलाई जेलमैबाट मैदानमा उतारिएको थियो। यही कदम रास्वपाका लागि उल्टो परिणाम ल्याएको हो।
आन्दोलनरत युवाले सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई नख्खु कारागार घेरेर बाहिर निकालेका थिए। जेलमुक्त भएपछि उनले आन्दोलनकारी भीडलाई सम्बोधन गरेका थिए।
रास्वपाले लामिछानेलाई आन्दोलनकै बलमा प्रधानमन्त्री बनाउने योजना बनाएको आरोप लागेको छ। तर, सामाजिक सञ्जालमै जेनजी नेताहरूले यसलाई कडा विरोध गरेपछि रास्वपाले कारागार प्रशासनकै प्रक्रियाबाट रिहा गरिएको दाबी गर्यो।
तर, लामिछानेको रिहाइका लागि प्रयोग गरिएको भनिएको पत्र नै किर्ते भएको तथ्य बाहिरिएपछि उनीमाथि थप शङ्का उठेको छ। यस घटनाले व्यापक रूपमा उनको छविमा नकारात्मक प्रभाव पारेको हो। प्रहरी स्रोतका अनुसार, कान्तिपुरलगायत मिडियाका कार्यालय र अन्य दलका नेताका घर जलाउन जानेहरूमा रास्वपाका कार्यकर्ता समेत संलग्न थिए।
२४ भदौको हिंसात्मक घटनामा काठमाडौँ महानगर, माओवादी केन्द्र र राप्रपाका कार्यकर्ता परिचालन भएको देखिएको छ। संलग्नको तस्बिर तथा भिडियो सार्वजनिक भएपछि माओवादी केन्द्रले संलग्न कार्यकर्तामाथि कारबाही गर्ने घोषणा गरिसकेको छ। आन्दोलनमा गैर–नेपालीको समेत संलग्नता रहेको बताइएको छ।
लामिछाने कारागारबाट बाहिरिएपछि देशभरका विभिन्न जेलबाट १४ हजार कैदीबन्दी भागेका थिए। उनीहरूले ‘रवि निस्कन सक्छन् भने हामी किन निस्कन नपाउने?’ भन्ने प्रश्न उठाएका थिए। तर लामिछानेले यसलाई अस्वीकार गर्दै कारागार विभागको नाममा किर्ते पत्र बनाएर सार्वजनिक रूपमा पढेका थिए। यसले समर्थकमाझ नै विश्वास सङ्कट उत्पन्न भएको रास्वपाका नेताहरूले बताएका छन्। अदालतमा आगो लगाउनेसम्मको आरोप पनि उनैमाथि लागेको छ।
जेनजी आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएर पदत्याग गरे पनि नेताहरूमाथिको आक्रमण र सार्वजनिक सम्पत्ति जलाउने क्रम रोकिएन। प्रहरी, सशस्त्र प्रहरी र सेनाको उपस्थितिमा समेत संरचनाहरू ध्वस्त भए। सेनाको भूमिका कमजोर भएको भन्दै व्यापक आलोचना भएको छ।
यस आन्दोलनमा सिंहदरबार, अदालत, प्रहरी–प्रशासन, प्रधानमन्त्री निवास, राष्ट्रपति कार्यालयदेखि शीर्ष नेताहरूका निजी निवाससम्म आक्रमण भए। प्रधानमन्त्री र मन्त्रीहरू भागाभाग हुँदा सेनाले उद्धार गरेर सुरक्षित स्थानमा पुर्याएको थियो। यस क्रममा पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री आरजु राणालगायतका नेतामाथि आन्दोलनकारीले कुटपिटसमेत गरेका थिए।
नेपाल प्रहरीले भौतिक तथा मानवीय क्षतिको विवरण सङ्कलन गर्दै अनुसन्धान अघि बढाइरहेको छ।
रास्वपाभित्र आन्तरिक लफडा झाँगिँदै
यसबीच रास्वपाकी पूर्व सहमहामन्त्री तथा पूर्व सांसद सुमना श्रेष्ठले आइतबार पार्टी परित्याग गरेकी छन्। उनले पार्टी नेतृत्व, विशेषतः सभापति रवि लामिछानेप्रति असन्तुष्टि जनाउँदै ‘पार्टी भन्दा माथि नेता राखिएको’ भन्दै आलोचना गरेकी छन्।
श्रेष्ठले पार्टी नेतृत्व मनलाग्दी ढङ्गले चलेको भन्दै असन्तुष्टि सार्वजनिक गर्दै भनिन्, “अब खुला रूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु। मैले पार्टी छोडेँ।”
तीन वर्षअघि स्थापना भएको रास्वपाले छोटो समयमा संसद्को चौथो दलको हैसियत पाएको थियो। तर, एमाले र माओवादीसँग सरकारमा गएको अनुभव, लामिछानेमाथि सहकारी ठगी प्रकरण र पछिल्ला विवादले पार्टीप्रतिको विश्वास घट्दै गएको देखिन्छ।
यसबीच लामिछानेले सांसद ढाकाकुमार श्रेष्ठमार्फत व्यापारी दुर्गा प्रसाईँसँग ३ करोड डिल गरेको अडियो सार्वजनिक भएपछि थप विवाद बढेको हो।
विभिन्न जिल्ला र प्रदेश समितिका नेताहरू पार्टी छाडिरहेका छन्। महामन्त्री मुकुल ढकाललाई साधारण सदस्य बनाइएपछि पार्टीभित्र आन्तरिक लफडा झन् चर्किएको छ।
यसरी, रास्वपाले जेनजी आन्दोलनमार्फत राजनीतिक लाभ लिन खोज्दा उल्टै पार्टीकै आधार हल्लिएको देखिन्छ।
आजको मध्यान्न दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया